बिहीबार, वैशाख ३, २०८३

चीनको उन्नतिबाट नेपालले पनि लाभ उठाउनु पर्नेमा जोड



नेपालको समग्र हित र चौतर्फी विकासका लागि चीनको भूमिका अपरिहार्य रहेको एक कार्यक्रकमा सहभागी विज्ञहरूले औंल्याएका छन् ।

नेपाल-चीन कुटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरूले चीनले कृषि, शिक्षा, प्रविधि, स्वास्थ्य, अन्वेषणलगायत क्षेत्रमा गरेको उन्नतिबाट नेपालले पनि लाभ उठाउनसक्नुपर्ने बताएका हुन् ।

पूर्वपरराष्ट्रमन्त्री एवम चीनका लागि नेपालका पूर्वराजदूत महेन्द्र पाण्डे, इतिहासविद् डा. सुरेन्द्र केसी, परराष्ट्र विज्ञ डा. मनिता कुशी र क्लाउडका अध्यक्ष शोभित उप्रेतीले यस्तो धारणा राखेका हुन् ।

पूर्वपरराष्ट्रमन्त्री पाण्डेले हाल विवादमा आएको लिपुलेक प्रकरणमा प्रधानमन्त्रीले सुझबुझपूर्णरूपमा कदम चाल्नुपर्ने बताए। आफ्नो आसन्न चीन र भारत भ्रमणमा अनुकुल वातावरण बनाएर दुवै देशसँग परिणाममुखी वार्ता गर्न उनले सुझाव दिए ।

नेता पाण्डेले चीनका हरेक विश्वविद्यालयमा अनुसन्धानलाई उच्च प्राथमिकता दिने गरेको बताउँदै नेपालका विश्वविद्यालयलाई पनि त्यसै अनुसार अघि बढाउनुपर्ने धारणा राखे ।

प्रा. डा. सुरेन्द्र केसीले नेपालको सुरक्षाको ढाडस नै चीन रहेको धारणा राखे । दुई देशीय सम्बन्धको इतिहास कोट्याउँदै उनले अंशुवर्मा, भृकुटी, अरनिको लगायतबाट जोडिएको सम्बन्ध अहिले राजनीतिक र जनस्तरमा समेत बलियो हुँदै गएको बताए ।

क्लाउडका अध्यक्ष उप्रेतीले आर्थिक रूपमा चीन विश्वकै पहिलो शक्ति बन्ने अवस्थामा पुग्नै लाग्दा नेपाल भने झिनामसिना कुरामा अल्झनु दुःखद भएको टिप्पणी गरे ।

प्रकाशित मिति : ७ भदौ २०८२ , शनिबार
प्रतिक्रिया