आइतबार, भदौ १४, २०८३

रुकुम पूर्वमा ग्यास पसलहरुको अनुगमन



रुकुम पूर्व – देशैभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै जाँदा त्यसको प्रत्यक्ष असर हिमाली तथा पहाडी जिल्लाहरूमा पनि पर्न थालेको छ । छिमेकी जिल्ला रुकुम पश्चिममा ग्यास पाउनका लागि उपभोक्ताहरू बिहानैदेखि पसल अगाडि लामो लाइनमा बस्न बाध्य भइरहेका बेला रुकुम पूर्वमा भने जिल्लामा प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्र पारेको छ ।

ग्यासको सम्भावित कालोबजारी र कृत्रिम अभावलाई रोक्न सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लालबहादुर विक सहितको टोलीले बजारका चारवटा ग्यास पसलको स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा टोलीले ग्यास विक्रेताहरूलाई पहुँचवाला भन्दा पनि सास्तीमा परेका विद्यार्थी र दैनिक ज्यालादारी मजदुर वर्गलाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न कडा निर्देशन दिएको छ ।

उपभोक्ताहरूले ग्यास नसकिँदै थप सिलिन्डर सञ्चय (स्टक) गरेर राख्ने प्रवृत्तिका कारण बजारमा केही असहजता देखिए पनि विक्रेताहरूले ग्यास लुकाएको वा कृत्रिम अभाव सिर्जना गरेको नपाइएको प्रशासनको निष्कर्ष छ । अनुगमनका क्रममा बजारमा राप्ती र भेरी ग्यास एक-एक हप्ताको अन्तरालमा आपूर्ति भइरहेको र मनकामना ग्यासको आयात भने केही अनियमित रहेको पाइएको छ ।

अनुगमनपछि सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बजारमा ‘फुल’ सिलिन्डर नै वितरण भइरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले आपूर्ति सहज बनाउन पहल भइरहेको र अहिले देखिएको समस्या केही समयमै समाधान हुने आशा व्यक्त गर्नुभएको छ ।।

प्रकाशित मिति : २४ साउन २०८३ , आइतबार
प्रतिक्रिया