रुकुम पूर्वको सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअन्तर्गत तेक्वान्दो खेल प्रशिक्षक तथा खेलाडीहरूलाई खेल सामग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिकाले तेक्वान्दो खेलको विकास तथा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सेन्सर सक, हेड गार्ड, चेस्ट गार्ड, ट्रेनिङ कोन, किक प्याड र ब्याक किक प्याड वितरण गरेको जनाएको छ ।
तेक्वान्दो प्रशिक्षक अमिन बुढाथोकीका अनुसार हाल सिस्ने गाउँपालिकामा करिब १ सय २५ जना खेलाडी तेक्वान्दो खेलमा सक्रिय रहेका छन्। उहाँले तेक्वान्दो खेलमार्फत रुकुम पूर्वका खेलाडीहरूले प्रदेशस्तरीय प्रतियोगितामा समेत स्थान हासिल गर्न सफल भएको जानकारी दिनुभयो ।
खेल सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले खेलाडीहरूलाई निरन्तर मेहनत, अनुशासन र इमान्दारीका साथ खेल क्षेत्रमा अघि बढ्न आग्रह गर्नुभयो। उहाँले खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक विकाससँगै गाउँपालिकाको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
अध्यक्ष रेग्मीले खेलाडीहरूले आफ्नो प्रतिभालाई अझ निखार्दै उत्कृष्ट प्रदर्शन गर्नुपर्ने उल्लेख गर्दै गाउँपालिकाले आगामी दिनमा पनि खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको गाउँपालिकाले जनाएको छ ।।









