शनिबार, भदौ १३, २०८३

रुकुमपूर्व अस्पतालको वार्षिक समीक्षा,थप सुविधा दिनेमा जोड



रुकुमपूर्व अस्पतालको वार्षिक समीक्षा गर्दै । तस्बिर : दुबोपाती

रुकुमपूर्व अस्पताल रुकुमकोटको जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा तथा आगामी योजना निर्माणका लागि सिस्ने गाउँपालिका–५ रुकुमकोट स्थित अस्पतालको आफ्‌नै सभाहलमा आज बुधबार गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा दुर्गम जिल्लाको अस्पताललाई आवश्यक पूर्वाधार, जनशक्ति तथा विशेषज्ञ सेवासहित थप सुविधासम्पन्न बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।
लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका अधिकृत परशुराम पोख्रेलले दुर्गम जिल्लामा रहेको अस्पताललाई थप सुविधाको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले उपलब्ध सेवाको गुणस्तर सुधारमा अस्पताल प्रशासनले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कम्युनिस्ट पार्टीका जिल्ला संयोजक कुमारी बराल गौतमले जिल्लाका नागरिक उपचारका लागि बाहिर जाँदा आर्थिक समस्या र विभिन्न झन्झट खेप्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले रुकुमपूर्व अस्पतालमै विशेषज्ञ चिकित्सकको व्यवस्था गर्नुपर्ने र तीनै तहका सरकारले जिल्ला अस्पतालको विकासमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । नागरिकलाई योग तथा ध्यानका लागि समेत स्वास्थ्यकर्मीले प्रेरित गर्नुपर्ने भन्दै उहाँले नियमित योग र ध्यानले गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक जनशक्ति महत्वपूर्ण हुने नेपाली कांग्रेसका जिल्ला कार्यवाहक सभापति भीमबहादुर खड्काले बताउनुभयो । उहाँले सरकारले स्वीकृत दरबन्दीअनुसार पदपूर्ति गरी अस्पतालको सेवा व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । कर्मचारीकै कार्यसम्पादनले सेवा राम्रो वा नराम्रो हुने भन्दै उहाँले नागरिकलाई राम्रो सेवा दिन आग्रह गर्नुभयो । लोकतन्त्रमा गाउँ र सहरका नागरिकले समान स्तरको सेवा पाउनुपर्ने भन्दै खड्काले ग्रामीण तथा दुर्गम जिल्लामा समेत सरकारले पर्याप्त लगानी गर्नुपर्ने बताउनुभयो । दुर्गम क्षेत्रमा सरकारको ध्यान अझै पर्याप्त रूपमा पुग्न नसकेको भन्दै उहाँले अब प्राथमिकताका साथ ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति लखनकुमार थापाले नागरिकलाई स्वास्थ्य प्रति सचेत बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । दुर्गम क्षेत्रमा आवश्यक परेको समयमा सहज रूपमा स्वास्थ्य सेवा पाउने अवस्था अझै नरहेको भन्दै उहाँले त्यसका लागि सबै पक्षले पहल गर्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कोपिला राईले ५० शैय्याको अस्पतालमा हुनुपर्ने आवश्यक सुविधा उपलब्ध गराउन पहल गर्नुपर्ने बताउनुभयो । ५० शैय्या अस्पतालका लागि आवश्यक सबै सुविधा नहुनु दुःखद कुरा भएको उहाँको भनाइ थियो । यद्यपि हाल उपलब्ध स्रोत, साधन र जनशक्तिबाट अधिकतम सेवा दिनुपर्नेमा उहाँले जोड दिनुभयो । जिल्लाको विकासका लागि सबै पक्षले रचनात्मक सोच र विचार राख्दै थप सुधार र विकासका लागि हातेमालो गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी राईले बताउनुभयो ।

रुकुमपूर्व अस्पताल विकास समितिका अध्यक्ष लोकेन्द्र शाहले अस्पतालमा स्वीकृत दरबन्दीअनुसार कर्मचारी पदपूर्ति हुन नसकेको बताउनुभयो । अस्पतालको क्षमता र आवश्यकताअनुसार सुविधा नभएकोे भन्दै उहाँले अस्पताललाई सुविधा सम्पन्न बनाउन सबै पक्षले पहल गर्नुपर्ने बताउनुभयो ।

गोष्ठीमा अस्पतालका प्रमुख डाक्टर कृष्ण खरालले आर्थिक वर्ष २०८२/०८३ को अस्पतालको वार्षिक प्रगति विवरण तथा आगामी योजनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

रुकुमपूर्व अस्पताल विकास समितिका अध्यक्ष लोकेन्द्र शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कोपिला राईको रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी खुमानन्द पाण्डे, सशस्त्र प्रहरीका प्रमुख डीएसपी नविन बुढाथोकी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख सुमनकुमार भण्डारी यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति लखनकुमार थापा, नेपाली कांग्रेसका जिल्‌ला कार्यवाहक सभापति भीमबहादुर खड्का, नेपाली कम्युनिस्ट पार्टीका जिल्‌ला संयोजक कुमारी बराल गौतम, लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकृत परशुराम पोख्रेल, जिल्‌ला स्वास्थ्य कार्यालयका प्रमुख पशुपति आचार्य, सिस्ने गाउँपालिका–५ का वडाध्यक्ष वीरेन्द्र बस्नेत, सिस्ने–६ का वडाध्यक्ष पूर्णबहादुर मल्‌ल लगायतको आतिथ्यता रहेको थियो । भने कार्यक्रममा अस्पतालका सुरक्षा अर्यालले स्वागत मन्तव्य राख्नुभएकोमा कार्यक्रमको सञ्चालन अस्पतालका मदन खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ भदौ २०८३ , बुधबार
प्रतिक्रिया