गएको चैत्र महिना देखि हालसम्म पटक पटक गरी रुकुमपूर्वका विभिन्न स्थानमा बेवारिसे ३३ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । गोप्य सूचनाको आधारमा खोजतलास गर्दा चैत्र महिना देखि हाल सम्म यस जिल्लाका विभिन्न स्थानमा ३३ थान बेवारिसे अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।
अवैध रुपमा राखिएका बन्दुक प्रहरीले खोजतलास कार्य तीव्र बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) खुमानन्द पाण्डेले जानकारी दिनुभयो । बेलाबेलामा जिल्लाका विभिन्न ठाउँमा भरुवा बन्दुक फेला परेपनि व्यक्तिहरू भने फेला पर्न नसकेको डीएसपी पाण्डेले बताउनुभयो ।
बेवारिसे बन्दुक कसले र किन राख्यो भनेर पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । काम विशेषले प्रहरी आवतजावत गर्दा र स्थानीयले देखेर खबर गरेपछि उक्त बन्दुक फेला पारिएको प्रहरीले जनाएको छ ।
यसैगरी यो तीन महिनाकै अवधिमा अवैध नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने १४ वटा सवारी साधन नियन्त्रणमा लिइ कारबाही गरिएको छ । यस्तै अवैध रुपमा लगाइएको २ रोपनी जग्गाको गाँजा र २ सय ४१ रोपनी जग्गामा लगाइएको अफिम खेती फँडानी गरिएको प्रहरीले जनाएको छ । कानुनले बन्द गरेका खेती तथा कार्य नगर्न सबैलाई प्रहरीले अनुरोध गरेको छ ।








