रुकुमपूर्व भूमे गाउँपालिका–५ डालिबाङमा सामुदायिक स्वासथ्य इकाइ भवन उद्घाटन गरिएको छ । आज बुधबार भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ र भूमे–५ का वडाध्यक्ष टेकप्रसाद बुढाले संयुक्त रुपमा दालिबाङ सामुदायिक स्वास्थ्य भवन उद्घाटन गर्नु भएको हो ।
भूमे गाउँपालिका र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमपूर्व र फेयरमेड फाउन्डेसन नेपालसँगको साझेदारीमा सञ्चालित सम्बोधन परियोजना एवम् स्थानीयको श्रमदानबाट डालिबाङ सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण गरिएको छ ।
भूमे गाउँपालिकाको ११ लाख रुपियाँ, मिक नेपाल र फेयरमेड फाउन्डेसनसँगको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाबाट ४ लाख रुपियाँ र जनश्रमदान पौने २ लाख रुपियाँ पौने १७ लाख रुपियाँमा दालिबाङ सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण भएको वडाध्यक्ष टेकप्रसाद बुढाले जानकारी दिनुभयो । यसमा थप मिक नेपाल र फेयरमेड फाउन्डेशनसँगको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाले स्वास्थ्य सचेतनामुलक भित्तेलेखन समेत गरिएको छ ।
नवनिर्मित डालिबाङ सामुदायिक स्वास्थ्य इकाइ भवनबाट सेवा प्रवाह पनि सुरु गरिएको वडाध्यक्ष बुढाले बताउनुभयो । आफ्नै भवन निर्माण भइसकेपछि सेवा प्रवाहमा सहज भएको उहाँको भनाइ रहेको छ । सामुदायिक स्वास्थ्य इकाइलाई थप विकास गर्दै जाने अध्यक्ष बुढाले बताउनुभयो ।
यसैगरी गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले गाउँपालिकाको स्रोतले धान्ने सम्म गाउँगाउँमा स्वास्थ्य सेवाको विस्तार गरिराखेको बताउनुभयो । सिमित स्रोतका कारण छिटोछरितो काम गर्न नसकिराखेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यद्यपि आधारभूत विकास पूरा भइरहेकोले अव स्वास्थ्य, शिक्षा, सडक, विद्युत, खानेपानी लगायतका विकासलाई थप सुदृढ गर्दै गइराखेकोको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
भूमे–५ का वडाध्यक्ष टेकप्रसाद बुढाको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथिमा भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठको रहेको थियो भने विशेष अतिथिमा स्वास्थ्य कार्यालय रुकुमपूर्वका सूचना अधिकारी निमप्रसाद गिरीको रहेको थियो । अन्य अतिथिमा भूमे गाउँपालिका स्वास्थ्य शाखाका संयोजक उपेन्द्र यादव, काँडा स्वास्थ्य चौकीका इञ्चार्ज चन्द्रशेखर विक, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष चन्द्र रसाइली, मिक नेपालका सचिव जयमान बुढामगर र फेयरमेड फाउन्डेशन नेपाल रुकुमपूर्वका स्वास्थ्य प्रवद्र्धक अधिकृत दानबहादुर कार्की, लगायतको आतिथ्यता रहेकोमा कार्यक्रम सञ्चालन भूमे–५ सेराबाङका सामुदायिक स्वास्थ्य इकाइका इञ्चार्ज प्रकाश बिकले गर्नु भएको थियो ।








