बुधबार, जेठ १३, २०८३

स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तालिम सम्पन्न



रुकुमपूर्व सिस्ने गाउँपालिका–६ रुकुमकोट छिप्रिदहमा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि उपेक्षित उष्ण–प्रदेशीय रोगहरूबारे ३ दिने आधारभूत तालिम सम्पन्न भएको छ । नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमपूर्व र फेयरमेड फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालित “सम्बोधन” परियोजनाको आर्थिक सहयोगमा स्वास्थ्य कार्यालय रुकुमपूर्वको आयोजनामा आइतबार देखि मंगलबार सम्म स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि उपेक्षित उष्ण–प्रदेशीय रोगहरूबारे ३ दिने आधारभूत तालिम सम्पन्न भएको हो ।

तालिममा जिल्ला स्थित जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइका स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो । स्वास्थ्यकर्मीको थप क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरिएको मिक नेपालका कार्यक्रम व्यवस्थापक मुकुन्द पुनमगरले बताउनुभयो । समाजमा लुकाएर राखिएको रोगको पहिचान गर्ने र त्यसको औषधि उपचार गराउने उद्देश्यले तालिम आयोजना गरिएको पुनमगरले जानकारी दिनुभयो । चार जना प्रशिक्षकले तालिम दिनु भएको थियो ।

नागरिकको स्वास्थ्य उपचारका लागि सरकार, संघसंस्था, कर्मचारी, समाजका अगुवा सबैले हातेमालो गरी काम गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि एवम् सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले बताउनुभयो । नागरिकको स्वास्थ्य उपचार गर्ने स्वास्थ्यकर्मीको मुख्य भूमिका रहेकोले स्वास्थ्यकर्मीमा धेरै लगानी गर्नु पर्ने आवश्यक रहेको उपाध्यक्ष रेउलेले बताउनुभयो ।

मिक नेपालका सचिव जयमान बुढामगरको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथि सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेको रहेको थियो । भने विशेष अतिथि स्वास्थ्य कार्यालयका सूचना अधिकारी निमप्रसाद गिरीको रहेको थियो । अन्य अतिथिमा फेयरमेड फाउण्डेशन नेपाल रुकुमपूर्वका समावेशी तथा स्वास्थ्य प्रवद्र्धन अधिकृत दानबहादुर कार्की, मिक नेपालका कार्यक्रम व्यवस्थापक मुकुन्द पुनमगर, सम्बोधन परियिोजनाका संयोजक राजेश रानामगर लगायतको आतिथ्यता रहेकोमा कार्यक्रमको सञ्चालन सम्बोधन परियोजनाका डीएमटीओ मदन शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : १८ कात्तिक २०८२ , मंगलबार
प्रतिक्रिया