रुकुमपूर्वमा रहेको रुकुमकोट जिल्ला अदालतले आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा ५६.६६ प्रतिशत कामको प्रगति गरेको छ । पुरानो सरेर आएको ५३ र नयाँ दर्ता ६७ गरी जम्मा १ सय २० थान मुद्दा मध्ये यस आर्थिक वर्षको प्रथम चौमासिकमा ६८ थान अर्थात ५६.६६ प्रतिशत मुद्दा फैसला गरेको हो ।
यस आर्थिक वर्षको प्रथम चौमासिकमा लक्ष्य राखिएको भन्दा १८ थान मुद्दा बढी फैसला गरिएको रुकुमकोट जिल्ला अदालतका स्रेस्तेदार एवम् प्रवक्ता ईश्वरीप्रसाद सुवेदीले जानकारी दिनुभयो । यो प्रगतिको विवरण हेर्दा अदालतको काम समयमै छोटोछरितो तवरबाट काम भइरहेको प्रवक्ता सुवेदीले बताउनुभयो ।
सरकारी फौजदारी मुद्दा अन्तर्गत लगत सरेर आएको १० र नयाँ १३ गरी २३ थान मुद्दा मध्ये १४ थान मुद्दा फैसला गरिएको छ । यसैगरी दुनियाँवादी फौजदारी मुद्दा लगत सरेर आएको ३ र नयाँ २ गरी जम्मा ५ मुद्दा मध्ये ३ थान मुद्दा फैसला भएको छ । भने दुनियाँवादी देवानी अन्तर्गत पुरानो सरेर आएको ४० र नयाँ ५२ गरी ९२ थान मुद्दा मध्ये ५१ थान मुद्दा फैसला गरिएको अदालतले जनाएको छ ।
फैसला कार्यान्वय कैद भुक्तानी तर्फ १ सय ८० वर्ष १८ दिन बाँकी रहेको छ । भने जरिमाना ७९ लाख ६९ हजार ४ सय ४८ रुपियाँ बाँकी रहेको छ । यसैगरी अन्तिम फैसला बमोजिम भरी पाउने क्षतिपूर्ति ३५ लाख ७ हजार १ सय ६ रुपियाँ बाँकी रहेको छ ।
हरेक आर्थिक वर्ष अदालतमा मुद्दा दर्ता बढ्दो क्रममा रहेको छ । दर्ता भएका मुद्दा मध्ये हरेक वर्ष सम्बन्धी विच्छेदकै मुद्दा नै उच्च रहेको छ । अदालतको आफ्नो भवन नहुँदा कार्यसम्पादनमा कठिनाइ भइरहेको अदालतले बताएको छ ।








