रुकुमपूर्व सिस्ने गाउँपालिका–६ रुकुमकोट छिप्रिदहमा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि उपेक्षित उष्ण–प्रदेशीय रोगहरूबारे ३ दिने आधारभूत तालिम सञ्चालन गरिएको छ । नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमपूर्व र फेयरमेड फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालित “सम्बोधन” परियोजनाको आर्थिक सहयोगमा स्वास्थ्य कार्यालय रुकुमपूर्वको आयोजनामा आइतबार देखि मंगलबार सम्म स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि उपेक्षित उष्ण–प्रदेशीय रोगहरूबारे ३ दिने आधारभूत तालिम सञ्चालन गरिएको हो ।
तालिममा समाजमा लुकाएर राखिएको रोगहरूको पहिचान र त्यसको औषधि उपचार गर्नेबारे सिकाइने सम्बोधन परियोजनाका संयोजक राजेश रानामगरले जानकारी दिनुभयो । जिल्ला स्थित अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाइका स्वास्थ्यकर्मीलाई तालिम दिइराखिएको संयोजक रानामगरले बताउनुभयो । ३ दिन सम्म सञ्चालन हुने तालिम चार जना प्रशिक्षक मार्फत दिइने उहाँले बताउनुभयो । तालिममा २० देखि २५ जना सम्म स्वास्थ्यकर्मीको सहभागी रहने आयोजकले जनाएको छ ।
कुन ठाउँमा कुन समयमा कुन रोगको संक्रमण भइरहेको छ भन्ने तर्फ अध्ययन गरी औषधि उपचारमा लाग्नु पर्ने उद्घाटन तालिमका प्रमुख अतिथि एवम् सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । अध्यक्ष रेग्मीले भन्नुभयो, “माथिल्लो सरकारले नयाँ नीति निर्माणमा ध्यान दिएको छैन्, नयाँ नीति बनाउनेमा सरकारले ध्यान नदिँदा जिल्लावासीको स्वास्थ्य उपचारका लागि यी यस्ता तालिमको महत्त्व रहेको छ ।”
यसैगरी कार्यक्रमका विशेष अतिथि एमव् स्वास्थ्य कार्यालयका प्रमुख पशुपति आचार्यले तालिमबाट भरपूर रुपले ज्ञान हासिल गर्न स्वास्थ्यकर्मीलाई सुझाव दिनुभयो । तालिमबाट नयाँ सीप आर्जन अर्थात थप दक्षता हासिल गर्न आचार्यले अपिल गर्नुभयो । तालिममा सहभागी भएर थप ज्ञान हासिल गरेको कुरा औषधि उपचारमा लागु गर्नु पर्ने प्रमुख आचार्यको भनाइ रहेको छ । ज्ञान मात्र हासिल गर्ने तर उक्त ज्ञान औषधि उपचारमा लागु गरिएन भने त्यो पनि तालिम आयोजना गरिएको लगानी खेर जाने उहाँको भनाइ रहेको छ । नेपाल सरकारले स्वास्थ्यकर्मीका लागि थप क्षमता अभिवृद्धिका लागि तालिमहरू सञ्चालन नगर्ने भएकोले सहयोगी संस्थाको सहयोगबाट आयोजना गरिएको तालिम ध्यान दिएर सिक्न र सिकाउन आचार्यले सुझाव दिनुभयो ।
नागरिकको घर नजिकबाटै धेरै भन्दा धेरै रोगको पहिचान र त्यसको औषधि उपचारको पहुँच पुगोस् भनी तालिम आयोजनाका लागि सहयोग गरिएको फेयरमेड फाउण्डेशन नेपाल रुकुमपूर्वका समावेशी तथा स्वास्थ्य प्रवद्र्धन अधिकृत दानबहादुर कार्कीले बताउनुभयो । नागरिकको स्वास्थ्य उपचार गर्ने स्थानीय स्वास्थ्य संस्था रहेकाले उक्त संस्थालाई बलियो बनाउनका लागि सम्बोधन परियोजनाले सहयोग गरिराखेको अधिकृत कार्कीले जानकारी दिनुभयो ।
जिल्ला स्थित नागरिकको स्वास्थ्य सुधार र औषधि उपचारका लागि संस्थाले गर्न सक्ने साथ सहयोग सरकारलाई गरिराखेको मिक नेपालका अध्यक्ष ललिता बुढामगरले बताउनुभयो । तालिमलाई उपलब्धीमूलक बनाउन प्रशिक्षक र सहभागीलाई अध्यक्ष बुढामगरले राय दिनुभयो ।
मिक नेपालका अध्यक्ष ललिता बुढामगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको रहेको थियो । विशेष अतिथिमा स्वास्थ्य कार्यालयका प्रमुख पशुपति आचार्यको रहेकोमा अन्य अतिथिमा स्वास्थ्य कार्यालयका सूचना अधिकृत निमप्रसाद गिरी, सिस्ने गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेन्द्रप्रसाद यादव, फेयरमेड फाउण्डेशनका दानबहादुर कार्की, मिक नेपालका उपाध्यक्ष वेदना बुढामगर, सचिव जयमान बुढामगर, सम्बोधन परियोजनाका संयोजक राजेश रानामगर लगायतको आतिथ्यता रहेकोमा कार्यक्रमको सञ्चालन सम्बोधन परियोजनाका डीएमटीओ मदन शर्माले गर्नुभएको थियो ।








