शनिबार, वैशाख ५, २०८३

माओवादी केन्द्र र एससहित आठ दलको आज एकता हुँदै



नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित ८ दलको आज राष्ट्रिय एकता सम्मेलन हुँदै छ । आइतबार यी ८ दलबीच एकताको सहमति भएको थियो ।

आउँदो फागुन २१ गतेका निम्ति तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कात्तिक मसान्तसम्म दल दर्ताको समय दिइएको छ । सोही कारण छिट्टै नयाँ दल दर्ता गर्न जाने नेताहरूले बताएका छन् । एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने बताइएको छ । पार्टीको चुनाव चिह्न पाँच कुने तारा राख्ने दलहरूबिच सहमति भएको छ ।

आइतबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पाटी नेकपा माओवादी–समाजवादी र नेकपा साम्यवादीबीच पार्टी एकता र कम्युनिस्ट एकीकरणको प्रकृया अगाडि बढाउन हस्ताक्षर गरिएको छ ।

यी पार्टीहरूबीच १८ बुँदे सहमति भएको थियो । एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठनलगायत कार्यहरू गरिने उल्लेख छ ।

आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने जनाइएको छ ।

यसैबीच, माओवादी र एकीकृत समाजवादीका असन्तुष्ट नेताले भने पार्टी पुनर्गठन गर्ने बताउँदै आउनु भएको छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्ष सोही पार्टी पुनर्गठन गर्ने भन्दै गृहकार्यमा हुनुहुन्छ ।

माओवादीका नेता जनार्दन शर्मा पनि आफूले पार्टी छाड्न नसक्ने बताउँदै आउनु भएको छ ।

तर, एकीकरण भएको खण्डमा सोही पार्टी नाम र चुनाव चिह्न एक वर्षसम्म प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा १० (७)मा एकीकरण वा गाभिनुअघि प्रयोग गरिएको दलको नाम र चुनाव चिह्न एक वर्षसम्म कसैले नपाउने उल्लेख छ ।

प्रकाशित मिति : १९ कात्तिक २०८२ , बुधबार
प्रतिक्रिया