बिहीबार, वैशाख ३, २०८३

जहाँ गएर पनि चुनाव जित्छु अरु कसैको तागत देखिएको छैन् : प्रचण्ड



नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकलम दाहाल (प्रचण्ड)ले आफू जहाँ गएर पनि चुनाव जित्ने दाबी गर्नुभयो । आज मंगलबार सिस्ने गाउँपालिका–२ नायगाडको चुनावी सभालाई सम्बाधेन गर्नु हुँदै प्रचण्डले यस्तो बताउनुभएको हो । एक थान चुनाव जित्न मात्र रुकुमपूर्व नआएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म जुनसुकै जिल्लामा गएर पनि चुनाव जित्छु । अरु कसैले अरुको जिल्लामा गएर चुनाव जित्ने तागत देखिएको छैन् अहिले सम्म । म एकलै हो जुनसुकै जिल्लामा गएर चुनाव जित्दै आएको ।” अरु जिल्लामा जित्ने आधार नभएर रुकुमपूर्व आएको भन्ने आरोप गलत रहेको प्रचण्डले बताउनुभयो ।

त्यो आरोप लगाउनेहरुले नै फेरि अहिले आफ्नो सिको गर्दै अरु जिल्लामा गएर उम्मेदवार दिएको बताउनुभयो । यद्यपि आफू विभिन्न जिल्लामा जादा कुनै न कुनै उद्देश्य लिएर जाने गरेको बताउनुभयो । त्यो उद्देश्य चुनाव जित्ने मात्र नभएर देशकै आवश्यकतालाई मध्ये नजर गरेर आफू अन्य जिल्लामा जाने गरेको बताउनुभयो ।

अहिले आफू चुनाव भेटघाटका क्रममा विभिन्न ठाउँमा जाँदा आफू प्रति नागरिकको उत्साह देखिएको बताउनुभयो । अहिले चुनावी अभियानमा गएको भन्दा चुनाव जितेर विजय उत्सव मनाइ राखेको महसुस गरिराखेका प्रचण्डले बताउनुभयो । उहाँले भन्नुभयो, “किनभने म विभिन्न ठाउँमा पुग्छु मतदाता खुसी भएर नाचगान प्रस्तुत गरिराख्नु भएको छ ।”

अरुले प्रचण्ड रुकुमपूर्वको होइन भन्दै हिड्दै गरेको उहाँले बताउनुभयो । प्रचण्ड रुकुमपूर्वको कुनै नयाँ नभएको बरु आफ्नो क्रान्तिको कर्म थलो भएको उहाँले बताउनुभयो । जहाँ आफूले यहाँका महिला, जनजाति, दलित एवम् उत्पीडित वर्गको निम्ति क्रान्ति गरेको र उक्त क्रान्तिबाट उपलब्ध भएको अधिकार प्रतिक्रियावादी तथा प्रतिगमनकारीले खोज्न लागेको प्रचण्डले बताउनुभयो । त्यस कारण उक्त उपलब्धीलाई रक्षा गर्नका लागि क्रान्तिको भूमि रुकुमपूर्व आएको उहाँले बताउनुभयो । जनयुद्धले लिएको गणतन्त्र व्यवस्थालाई बलियो बनाउन लाग्नु पर्ने बताउनुभयो ।
रुकुमपूर्वलाई एक नमुना विकासको रुपमा विकास गर्ने उहाँले प्रतिवद्धता जनाउनु भएको छ ।

प्रकाशित मिति : ५ फागुन २०८२ , मंगलबार
प्रतिक्रिया