चुनावी अभियानका क्रममा रुकुमपूर्वका विभिन्न विकट स्थानको भ्रमणपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले गत भदौ २३ र २४ गते भएका घटनाबारे र त्यसपछिको निर्वाचनबारे धारणा व्यक्त गर्नुभएको छ । आज मंगलबार सिस्ने गाउँपालिका–६ छिप्रिदह रुकुमकोटमा प्रेस सेन्टर नेपाल रुकुमपूर्वको आयोजनामा पत्रकार भेटघाट कार्यक्रममा उहाँले जेन्जी युवामाथि भएको हत्या, देश जलाउने प्रवृत्ति र राष्ट्रवादका पक्षमा देश बचाउने शक्तिबीच प्रतिस्पर्धा चलिरहेको बताउनुभयो ।
उहाँले विशेषगरी २३ गते साँझ भएको नरसंहार र २४ गतेको आगजनी तथा विध्वंसका घटनालाई गम्भीर रूपमा लिन आग्रह गर्नुभयो । “२३ गते साँझ नपुग्दै भएको नरसंहारको हामीले तत्काल विरोध गरेका थियौं । त्यसअघि पनि सरकारका नेतृत्वले गरेका कामको हामीले विरोध गर्दै आएका थियौं,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार उक्त घटनाप्रति सम्बन्धित पक्षले आत्मसमीक्षा गर्नुपर्नेमा त्यसो नगरी ‘गल्ती भएको छैन’ भन्ने प्रवृत्ति देखिनु खतरनाक संकेत हो । “गल्ती स्वीकार नगर्ने प्रवृत्ति देखिएको छ । यदि जनताले यसलाई बुझेन भने भविष्यमा फेरि दोहोरिन सक्छ,” उहाँले चेतावनी दिनुभयो ।
त्यस्तै, २४ गते भएको आगजनी तथा विध्वंसका घटनामा वामपन्थी तथा लोकतान्त्रिक दलका घरमा आक्रमण भएको उल्लेख गर्दै उहाँले देशलाई अस्थिर बनाउने शक्तिको इसारामा चल्ने प्रवृत्ति देखा परेको दाबी गर्नुभयो । “त्यो नेपाललाई नियन्त्रणमा राख्न चाहनेहरूको इसारामा चल्ने प्रवृत्ति हो,” उहाँले स्पष्ट गर्नुभयो ।
प्रचण्डले २३ र २४ गतेका दुवै गलत प्रवृत्तिविरुद्ध आफ्नो पार्टी स्पष्ट रूपमा उभिएको बताउनुभयो । “यी दुवै गलत प्रवृत्तिविरुद्ध हामी नेपाली जनतालाई सचेत गराइरहेका छौं । २३ र २४ गतेका घटना नहोस् र दोहोरिन नदिन हाम्रो पार्टी प्रतिबद्ध छ,” उहाँले भन्नुभयो ।
उहाँले हाल देशमा तीन प्रकारका प्रवृत्तिबीच संघर्ष चलिरहेको उल्लेख गर्दै यो अवस्था जनमत संग्रह जस्तो भएको बताउनुभयो । कुन प्रवृत्तिलाई जिताउने भन्ने निर्णय अब जनताले गर्ने समय आएको उहाँले जोड दिनुभयो । साथै, देश जलाउने, हिंसा र दमन गर्ने प्रवृत्तिविरुद्ध सशक्त अभियान आवश्यक रहेको उहाँले स्पष्ट गर्नुभयो ।
“जनताले अब फैसला गर्नुपर्छ । सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रियताको पक्षमा उभिन जरुरी छ। देशको पक्षमा काम गर्न सकिएन भने फेरि दुर्घटनामा पर्न सक्छ,” उहाँले भन्नुभयो। आफू देश दुर्घटनामा नजाओस् र समाजवादको यात्रामा अघि बढोस् भन्ने संकल्पका साथ अघि बढिरहेको उहाँले दोर्होयाउनुभयो ।
निष्पक्ष निर्वाचन भए नेपाली कम्युनिस्ट पार्टी पहिलो शक्ति बन्ने दाबी गर्नुभयो । “देशभरबाट प्राप्त रिपोर्टअनुसार निष्पक्ष निर्वाचन भयो भने नेपाली कम्युनिस्ट पार्टी पहिलो बन्छ । देश र जनताको पक्षमा काम गर्ने पार्टी नेपाली कम्युनिस्ट पार्टी नै हो,” उहाँले भन्नुभयो ।








