बिहीबार, वैशाख ३, २०८३

शान्ति र स्थिरताका लागि संयुक्त राष्ट्रको दृढ प्रतिबद्धता



FILE PHOTO: United Nations Secretary-General Antonio Guterres gestures during an interview with Reuters at the United Nations Headquarters in Manhattan, New York City, U.S., September 15, 2021. REUTERS/Andrew Kelly/File Photo

संयुक्त राष्ट्र महासचिव अन्तोनियो गुटेरेसले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा विश्व समुदायलाई ‘सहकार्य र समझदारीको पुल बनाउन र स्थिरता तथा समृद्धि स्थापना गर्न’ अपिल गर्नुभएको छ । उहाँले भन्नुभयो,“द्वन्द्वले ग्रस्त संसार शान्तिको लागि तात्कालिक आवाज उठाइरहेको छ ।”

विश्वमा द्वन्द्व र त्यसको प्रभाव

गुटेरेसले विश्वका विभिन्न भागमा बढ्दो द्वन्द्वका कारण धेरै मानिसको जीवन ध्वस्त भएको, बाल्यकाल हराएको र आधारभूत मानव अधिकारको अवमूल्यन भइरहेको उल्लेख गर्नुभयो । “हामी द्वन्द्वको विस्फोट देखिरहेका छौं, अन्तर्राष्ट्रिय कानून उल्लङ्घन भइरहेको छ र अभूतपूर्व सङ्ख्यामा मानिसहरू आफ्ना घरबार छोड्न बाध्य छन् ।”

शान्ति सबैको साझा जिम्मेवारी

महासचिवले शान्ति सबैको साझा जिम्मेवारी भएको भन्दै, दिगो विकासले शान्ति स्थापना गर्न सहयोग गर्ने तर अहिले विकासमा पछाडि रहेका अधिकांश देशहरूमा द्वन्द्व जारी रहेको उल्लेख गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई जातीय विभेद, मानवीय अपमान र गलत सूचना जस्ता द्वन्द्व बढाउने कारणलाई अन्त्य गर्न आह्वान गर्नुभयो र सबैलाई ‘सम्मान र सहिष्णुताको भाषा बोल्न’ आग्रह गर्नुभयो ।

शान्ति नै आशाको प्रतीक

“जहाँ शान्ति हुन्छ, त्यहाँ आशा पनि हुन्छ,” गुटेरेसले भन्नुभयो । “शान्तिका कारण परिवार पुनः एकताबद्ध हुन्छन्, समुदाय पुनर्निर्माण हुन्छन्, र बालबालिकाले सुरक्षित वातावरणमा शिक्षा र खेलकुद गर्न पाउँछन ।”

अन्तर्राष्ट्रिय शान्ति दिवसको महत्व

अन्तर्राष्ट्रिय शान्ति दिवस सन् १९८१ मा संयुक्त राष्ट्र महासभाद्वारा स्थापना गरिएको हो । सन् २००१ मा यस दिनलाई विश्वव्यापी अहिंसा र युद्धविरामको समयका रूपमा घोषणा गरिएको छ ।

प्रकाशित मिति : ६ असोज २०८२ , सोमबार
प्रतिक्रिया