बुधबार, वैशाख २, २०८३

रुकुमपूर्वमा बृहत् सांस्कृतिक तथा साहित्यिक कार्यक्रम सुरु



रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुकुमकोटमा रुकुमकोट बृहत् सांस्कृतिक तथा साहित्यिक कार्यक्रम सुरु भएको छ । तिहार तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृतिको अवसर पारी शनिबार र आइतबार २ दिन लाग्ने बृहत् सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आज शनिबार देखि सुरु गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल र सिस्ने गाउँपालिकाको सहकार्य एवम् विभिन्न व्यक्ति तथा कार्यालयको सहयोगमा प्रगतिशिल लेखक संघ, राप्ति साहित्य परिषद् र लुम्बिनी बाङ्मय प्रतिष्ठान रुकुमपूर्वको आयोजनामा रुकुमकोट बृहत् सांस्कृतिक तथा साहित्यिक कार्यक्रम गरिएको छ ।
कार्यक्रमको उद्घाटन सत्र सुरु हुनु भन्दा अगाडि रुकुमकोट बजार परिक्रममा गरिएको थियो । त्यसपछि कार्यक्रमको उद्घाटन सत्र सिस्ने गाउँपालिकाको सभाहलमा गरिएको हो । उद्घाटन कार्यक्रममा विभिन्न झाँकी प्रदर्शन गर्नुका साथै अतिथिबाट शुभकामना मन्तव्य र श्रष्टाले रचना बाचन गर्नु भएको थियो ।

आइतबार बिहान १० बजे सिस्ने–६ मा रहेको त्रिभुवन जनता मावि छिप्रीदहको सभाहलमा अन्तर विद्यालय स्तरीय कविता बाचन प्रतियोगिता र स्थान हासिल गर्ने प्रतियोगीलाई पुरस्कार वितरण कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रगतिशिल लेखक संघ रुकुमपूर्वका अध्यक्ष उपेन्द्रलाल कामीको अध्यक्षतामा उद्घाटन कार्यक्रम गरिएको थियो । प्रमुख अतिथिमा नेपाल प्रज्ञा प्रतिष्ठान नेपालका सचिव धनप्रसाद सुवेदीको रहेकोमा विशेष अतिथिमा जिल्ला समन्वय समिति रुकुमपूर्वका उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी र प्रमुख जिल्ला अधिकारी सीता परियारको रहेकोमा जिल्ला स्थित विभिन्न कार्यालय तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको पनि आतिथ्यता रहेकोमा कार्यक्रमको स्वागत मन्तव्य राप्ति साहित्य परिषद् रुकुमपूर्वका अध्यक्ष जमुना गौतम पुनले राख्नु भएकोमा कार्यक्रमको सञ्चालन राप्ति साहित्य परिषद् रुकुमपूर्वका सचिव उर्मिला गौतमले गर्नु भएको थियो ।

प्रकाशित मिति : १ कात्तिक २०८२ , शनिबार
प्रतिक्रिया