शनिबार, जेठ १६, २०८३

“देश जलाउनेलाई चिनौँ, व्यवस्था ल्याउनेलाई जिताऔँ” : प्रचण्ड



नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले देश जलाउनेहरुलाई चिन्नु पर्ने बताउनुभयो । देश जलाएर होहल्ला गर्दैमा देश बन्ने र जनताले विश्वास नगर्ने उहाँले बताउनुभयो । आज शनिबार रुकुमपूर्व भूमे गाउँपालिका-९ चुनबाङ गैरीगाउँमा आयोजित जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै यस्तो बताउनुभएको हो ।

पुराना पार्टी र नयाँ नेतृत्वको बहसका बीच हल्ला र होहल्लाले देश नबन्ने जिकिर गर्दै उहाँले सामाजिक सञ्जालको ‘फलोअर्स’ले मात्र जित सुनिश्चित नहुने बताउनुभयो। “देश जलाउने र अराजकता फैलाउनेहरूलाई चिनौँ, व्यवस्था ल्याउने र गणतन्त्रको रक्षा गर्नेहरूलाई जिताऔँ,” उहाँले आह्वान गर्नुभयो। उहाँले भरतपुरको विकास उदाहरण दिँदै विकास र समाजवादको मोडेल हेर्न रुकुम आउने बनाउने दाबी गर्नुभयो। रुकुमलाई विकासको नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण अधुरा काम पूरा गर्ने र नयाँ आन्दोलनको तयारी गर्ने घोषणा समेत गर्नुभयो।

व्यवस्था परिवर्तन गर्ने दल नेकपालाई बहुमतले बिजय गराउनुको विकल्प नरहेको बताउनुभयो । त्यसले व्यवस्था ल्याउने पार्टी नेकपालाई जिताउन प्रचण्डले आग्रह गर्नुभयो । जनयुद्धका शहीद, बेपत्ता योद्धा तथा घाइतेहरूको योगदानकै कारण मुलुकमा परिवर्तन सम्भव भएको उल्लेख गर्नुभयो। चुनबाङलाई विश्वसामु चिनाउन सफल भएको उल्लेख गर्दै उहाँले ऐतिहासिक बैठक बसेको यस पवित्र भूमिमा पुनः नयाँ ऊर्जा पैदा भएको बताउनुभयो। युद्धबन्दी राखिएको र महत्वपूर्ण निर्णयहरू लिइएको स्थानका रूपमा चुनबाङको ऐतिहासिक महत्व रहेको उहाँको भनाइ थियो।

उहाँका अनुसार यही भूमिबाट क्रान्तिको ढोका खोलिएको थियो र यहीँबाट शान्तिको ढोका पनि खुलेको भुमि रहेको बताउनुभयो । “हामीले यहीँबाट गणतन्त्र घोषणा गर्ने उद्घोष गरेका थियौँ र अन्ततः गणतन्त्र व्यवस्था ल्यायौँ,” उहाँले भन्नुभयो । जनताको साथ र सहयोग बिना व्यवस्था परिवर्तन गर्न सम्भव नहुने उहाँको भनाइ थियो। आफुलाई  देशका विभिन्न १२ जिल्लाबाट उम्मेदवारीका लागि सिफारिस आए पनि नयाँ अभियान सुरु गर्न ऐतिहासिक भूमि रुकुम रोजेको स्पष्ट पार्दै उहाँले क्रान्तिको ज्वाला दन्किएको स्थानबाट पुनः परिवर्तनको अभियान अघि बढाउने बताउनुभयो।

 

प्रकाशित मिति : २ फागुन २०८२ , शनिबार
प्रतिक्रिया