नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले चुनबाङको बैठकले देशलाई नयाँ उचाइमा पुर्याएको बताउनुभयो । आज शनिबार रुकुमपूर्व भूमे गाउँपालिका-९ चुनबाङमा जनभेटघाटका लागि चुनबाङको शान्ति सङ्ग्रहालय भेरीडाँडामा पुगेर प्रचण्डले यस्तो बताउनुभएको हो ।
२०६२ असोज महिनामा तत्कालीन माओवादीको केन्द्रीय बैठकले जनयुद्धबाट शान्तिमा जाने निर्णय भएको उहाँले बताउनुभयो । एकतन्त्रीय राजतन्त्रको व्यवस्था अन्त्य गर्ने र देशलाई लोकतान्त्रिक गणतन्त्र व्यवस्थामा ल्याउने दिशामा जाने निर्णय चुनबाङको केन्द्रीय बैठकले गरेको प्रचण्डले बताउनुभयो । साथै यी चुनबाङबाटै नै आफू र अन्य नेताहरू भुमिगत अवस्थाबाट नागरिक समक्ष सार्वजनिक भएको पनि उहाँले बताउनुभयो ।
त्यस कारण चुनबाङको बैठकले देश थप उचाइमा पुगेको प्रचण्डले बताउनुभयो । हाल यस बैठक परिसरलाई शान्ति सङ्ग्रहालय मार्फत युद्धको एक अध्ययन पर्यटकीय स्थलको रुपमा थप विकास गर्ने बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा सङ्ग्रहालय विकासका लागि बजेटको व्यवस्था गरेकोमा फेरि थप महत्त्वका साथ विकास गर्ने प्रचण्डले बताउनुभयो । यसैगरी चुनबाङ निवासी एवम् नेकपाका केन्द्रीय सदस्य पूर्णबहादुर घर्ती मगरले चुनबाङकै बैठकले शान्ति प्रक्रियामा जाने र राजतन्त्र अन्त्य गरी गणतन्त्र व्यवस्था ल्याउने निर्णय भएको बताउनुभयो । यस कारण चुनबाङको भेरीडाँडा महत्त्वपूर्ण रहेको घर्तीमगरले बताउनुभयो ।








