बिहीबार, वैशाख ३, २०८३

जनयुद्धले ल्याएको उपलब्धी उल्टिन नदिन बहुमत दिनुस् : प्रचण्ड



नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वद्वारा आयोजित ३० औं जनयुद्ध दिवस कार्यक्रममा पार्टीका संयोजक तथा नेकपा रुकुमपूर्वका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)ले जनयुद्धले मुलुकमा ऐतिहासिक परिवर्तन र स्वतन्त्रता ल्याएको बताउनुभयो । आज शुक्रबार नेकपा रुकुमपूर्वले भूमे गाउँपालिका–२ खाबाङ बगरमा आयोजना ३० औँ जनयुद्ध कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै यस्तो बताउनुभयो ।

उहाँले रुकुमपूर्वका ३१ वटै वडामा पक्की सडक निर्माण गर्ने प्रतिबद्धता जनाउँदै हिमाली जिल्लाको शिक्षा सुधार, जडीबुटी तथा खानी उत्खनन मार्फत रोजगारी सिर्जना गरिने योजना प्रस्तुत गर्नुभयो । मगर समुदायको आत्मसम्मान अभिवृद्धिका लागि विशेष कार्यक्रम ल्याइने पनि उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारमार्फत अर्गानिक जिल्लालाई थप कार्यक्रम सञ्चालन गरिने, रुकुमपूर्व अस्पतालमा २४ घण्टा विशेषज्ञ डाक्टरको व्यवस्था मिलाइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । “बन्दुक बोकेर व्यवस्था परिवर्तन गरेको जिल्लाबाट अब शान्तिपूर्ण तरिकाले अवस्था बदल्नेछौं,” उहाँले भन्नुभयो, “क्रान्ति र शान्तिको भूमिबाट इतिहास सम्झेर देश र जनताका भविष्य निर्माण गर्नु छ । उपलब्धि जोगाउने कि उल्टाउने भन्ने निर्णय तपाईँहरुको मतले गर्छ ।” उहाँले बहुमत दिए समाजवाद निर्माणको दिशामा अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै नयाँ भ्रम नभई वास्तविक परिवर्तनको पक्षमा मत दिन आह्वान गर्नुभयो ।

उहाँले जनयुद्धकै कारण देशमा राजनीतिक परिवर्तन सम्भव भएको  उल्लेख गर्नु हुँदै क्रान्तिको भूमिबाट शान्तिको यात्रा सुरु भएको धारणा राख्नुभयो । प्रचण्डले भन्नुभयो, “यो वीरहरुको भूमि हो, इतिहास रचेको भूमि हो । दुधे बालक बोकेर व्यवस्था परिवर्तनका लागि लडेर आएको हालको परिवर्तन सामान्य होइन् । यो सबै जनयुद्धकै कारण सम्भव भएको हो ।”

प्रचण्डले जनयुद्धअघि महिलाको उपस्थिति राज्यका विभिन्न निकायमा न्यून रहेको स्मरण गर्दै अहिले तल्लो तहदेखि माथिल्लो तहसम्म महिलाको स्थान सुनिश्चित भएको दाबी गर्नुभयो । उहाँले अझै पनि एउटा क्रान्ति गर्ने आवश्यक रहेको बताउनु हुँदै अब उत्पादन क्रान्ति र भ्रष्टाचार विरुद्धको अभियान सञ्चालन गर्ने स्पष्ट पार्नुभयो ।

“क्रान्ति भएको भूमिमा अब उत्पादन क्रान्ति हुन्छ । भ्रष्टाचारविरुद्ध कडा संघर्ष हुन्छ,” उहाँले भन्नुभयो, “युुद्धकालमा रुकुमपूर्वले लगाएको ऋण तिर्न म यहाँ आएको छु । म केवल पार्टी नेतृत्वको हैसियतले मात्र होइन, तपाईँहरुको उम्मेदवार भएर आएको छु ।” त्यसकारण युद्धबाट परिवर्तन भएर आएको व्यवस्था अब अवस्था परिवर्तन गर्न आफू प्रतिवद्ध रहेको प्रचण्डले बताउनुभयो ।

 

प्रकाशित मिति : १ फागुन २०८२ , शुक्रबार
प्रतिक्रिया