शुक्रबार, वैशाख ४, २०८३

नेकपा रुकुमपूर्वको ३ गाउँपालिकाकै युवा भेला सम्पन्न



नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्लाका तीन वटै पालिका स्तरीय युवा भेला सम्पन्न गरेको छ । माघ २५ गते सिस्ने गाउँपालिका, माघ २६ गते पुथाउत्तरगंगा गाउँपालिका र माघ २७ गते भूमे गाउँपालिकाको युवा भेला गरेको हो ।

आज मंगलबार भूमे गाउँपालिकाको वडा नम्बर २ खाबाङबगर स्थित पालिकाको सभाहलमा भेला सम्पन्न गरेको हो । भेलामा सहभागी युवाहरूले नेताहरूलाई निर्वाचनको बेला मात्रै युवालाई परिचालन गर्ने प्रवृत्तिप्रति ध्यानाकर्षण गराउँदै युवाको भविष्य, रोजगारी, शिक्षा, सीप विकास र नेतृत्व विकासका विषयमा दीर्घकालीन सोच र ठोस कार्यक्रम आवश्यक रहेको धारणा राखेका छन् ।

युवाहरूले चुनावी समयमा मात्र होइन, सधैं युवाको सवाललाई प्राथमिकतामा राखेर नीति, योजना र कार्यान्वयनमा जोड दिन पार्टी नेतृत्वलाई आग्रह गरेका हुन् ।

भेलाका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले देश अहिले गम्भीर राजनीतिक संक्रमणको चरणमा रहेको बताउनुभयो । उहाँले वर्तमान अवस्थामा राजनीतिक परिवर्तनलाई सही दिशामा अघि बढाउन युवाहरूको सचेत, संगठित र सक्रिय भूमिका अनिवार्य रहेको उल्लेख गर्नुभयो । उहाँले पार्टी नेतृत्व युवाहरूको भावना, चाहना र अपेक्षालाई केन्द्रमा राखेर अघि बढिरहेको उल्लेख गर्दै युवाहरूलाई वैचारिक रूपमा स्पष्ट, सांगठनिक रूपमा बलियो र व्यवहारिक रूपमा अनुशासित बन्न आग्रह गर्नुभयो । साथै, आगामी निर्वाचनमा युवाहरूले निर्णायक भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

भेलामा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् युवा परिचालन समितिका संयोजक सुबोधराज शेर्पालीको अध्यक्षतामा भएको भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, प्रदेश सदस्यहरू तथा जिल्लास्तरीय नेताहरूको पनि आतिथ्यता रहेकोमा युवाहरुको सक्रिय सहभागीता रहेकोमा कार्यक्रम सञ्चालन युवा परिचालन समितिका सह–संयोजक, पार्टीका केन्द्रीय सदस्य केशव रावलले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २७ माघ २०८२ , मंगलबार
प्रतिक्रिया