रुकुमपूर्वका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी) यही माघ २५ गते देखि दिइदै छ । स्वास्थ्य कार्यालय रुकुमपूर्वले आज बिहीबार सिस्ने गाउँपालिका–६ छिप्रिदहको चाइनिज होटेलमा कार्यक्रम आयोजना गरी पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने अभियानबारे जानकारी गरेको हो ।
जिल्लाभरका विद्यालयमा कक्षा ६ मा पढ्ने किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) दिइन लागेको हो । यो खोप विद्यालय नजाने किशोरीका हकमा १० वर्ष उमेर समूह, गत वर्ष छुटेकामध्ये कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय नजाने ११ वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई दिइने स्वास्थ्य कार्यालयका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो ।
सिस्ने गाउँपालिकाका कक्षा ६ मा अध्ययनरत किशोरीको संस्या १ सय २१ र विद्यालय बाहिरका २ जना गरी २ सय २३ जना, भूमे गाउँपालिकाका कक्षा ६ मा अध्ययनरत किशोरी १ सय ७३ र विद्यालय बाहिर ८ गरी १ सय ८१ र पुथाउत्तरगंगा गाउँपालिकाका कक्षा ६ मा अध्ययनरत १ सय ७७ गरी जिल्लाबाट ५ सय ८१ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख आचार्य बताउनुभयो ।
तीन वटै गाउँपालिकामै १८/१८ वटा खोप केन्द्रबाट एचपीभी खोप लगाइँदै छ । सञ्चार माध्यम, गाउँपालिका, स्वास्थ्य संस्था र विद्यालय लगायत विभिन्न माध्यम मार्फत एचपीभी खोप लगाउनेबारे जानकारी दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाठेघर मुखको क्यान्सर विरुद्धको खोप अभियानलाई प्रभावकारी गर्नु पर्ने जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीले बताउनुभयो । सरकारले उपलब्ध गराउने खोप ज्यान सुरक्षाका लागि एकदम महत्त्व रहेकोले खोप लगाउन आम अभिभावक, विद्यालय, स्वास्थ्य संस्था लगायत सबैले किशोरीलाई खबर गर्नु हुन केसीले आग्रह गर्नुभयो ।
खोपले स्वास्थ्य सुरक्षा गर्ने भएकोले ढुक्क भएर खोप लगाउनु हुन सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । यसैगरी शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक गौतमले खोप लगाउन नछुटाउन सबै विद्यालय र अभिभावकलाई जानकारी गरी सकेको बताउनुभयो ।








