प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) रुकुमपूर्वका उम्मेदवार सन्दिप पुनले कार्ययोजना पत्र सार्वजनिक गर्नु भएको छ । आज मंगलबार रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुकुमकोट स्थित कमलदह परिसरमा प्रलोपाका उम्मेदवार पुनले आफ्नो चुनावी कार्ययोजना पत्र सार्वजनिक गर्नु भएको हो ।
कार्ययोजना पत्रमा पहिलो प्राथमिकतामा जनताको सत्य बोल्ने राजनीति राख्नु भएको छ । भाषणका लागि राजनीति नगर्ने, जनताको पीडा बुझेर समाधान गर्ने राजनीतिक गर्ने प्रतिवद्धता जनाइएको छ । झुटा आश्वासन नदिने जनताको निगरानीमा जनप्रतिनिधिले काम गर्ने लगायतका कुरा उल्लेख गरिएको छ ।
यसैगरी दोस्रोमा जिल्लाको दुर्गमता अन्त्य गर्न सडक पहुँच विस्तारलाई राखिएको छ । जसमा राष्ट्रिय लोकमार्गलाई थप पूर्णता दिने र हाल विस्तार भएका सडकलाई स्तरोउन्नति गर्ने, झोलुङ्गे पुल, सडक पुललाई पनि दोस्रो प्राथमिकतामा दिइएको छ । तेस्रोमा उर्जा राखिएको छ । भने क्रमशः कृषि र वन, खानी, उद्योग, युवा नीति, शिक्षा, स्वास्थ्य, पर्यटन, शहीद, बेपत्ता, घाइतेका लागि कार्यक्रम, शासन र सामाजिक न्याय, सुशासन, सञ्चार र प्रविधि, वैचारिक प्रतिवद्धतालाई राखिएको छ । यी माथिका शीर्षकमा बुँदागत रुपमा आफूले गर्ने विकासको मोडेलबारे उम्मेदवार पुनले उल्लेख गर्नु भएको छ ।
प्रलोपाका उम्मेदवार सन्दिप पुनको अध्यक्षतामा गरिएको कार्ययोजना पत्र सार्वजनिक कार्यक्रमका प्रमुख अतिथिमा प्रलोपाका केन्द्रीय सदस्य विजय केसीको रहेको थियो ।








