रुकुमपूर्व भूमे गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्डको विजेता भूमे–९ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चुनबाङ बनेको छ । भूमे–६ महतको वृहत खेल मैदानमा भएको भूमेको सातौँ राष्ट्रपति रनिङ शिल्डको विजेता मावि चुनबाङ भएको हो । माघ १५ गते देखि सुरु भएको शिल्ड हिजो सोमबार सकिएको हो ।
१० स्वर्ण, ५ रजत र ४ कास्य गरी जम्मा १९ पदक प्राप्त गरी मावि चुनबाङ प्रथम भएको छ । ७ स्वर्ण, ४ रजत र ५ कास्य गरी जम्मा १६ पदक प्राप्त गरेर भूमे–६ को जनजागृति मावि महत दोस्रो, ७ स्वर्ण, २ रजत र ४ कास्य गरी १३ पदक प्राप्त गरी भूमे–४ को जनशक्ति मावि काँडा तेस्रो स्थान र ३ स्वर्ण, ६ रजत र ३ कास्य गरी १२ पदक प्राप्त गरी भूमे–१ को सिद्धचउर मावि लुगुम सान्त्वना स्थान हासिल गरेको गाउँपालिकाका सहायक शिक्षा अधिकृत टेकबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
यसैगरी भूमे–३ को शहीद शुक्र मावि सिमाले १ स्वर्ण, ६ रजत र ४ कास्य गरी ११ पदक, भूमे–२ को त्रिवेणी मावि काँक्रीले ५ रजत र ४ कास्य गरी ९ पदक, भूमे–८ को सरस्वती मावि सिमखोलाले २ स्वर्ण, १ रजत र ६ कास्य गरी ९ पदक, भूमे–८ कै मावि कुचिबाङले १ रजत र भूमे–२ को त्रिभुवन मावि खाबाङले कुनै पनि पदक प्राप्त गर्न नसकेको सहायक शिक्षा अधिकृत बुढाथोकीले बताउनुभयो । स्थान हासिल गर्ने माविलाई गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । तीन वटै गाउँपालिका स्तरीय शिल्ड सकिएको छ ।








