बिहीबार, वैशाख १०, २०८३

रुकुमपूर्वमा जिल्ला सुरक्षाद्वारा मतदान स्थल र केन्द्रको अनुगमन



आगामी फागुन २१ गते हुन गइराखेको प्रतिनिधिसभा निर्वाचनका लागि रुकुमपूर्वको जिल्ला सुरक्षा समितिले अनुगमन तिव्र पारेको छ । शुक्रबार देखि जिल्ला सुरक्षा समितिले जिल्ला स्थित विभिन्न मतदान स्थल र केन्द्रको अनुगमन गरिराखेको छ ।

आज शनिबार पनि भूमे गाउँपालिका–२ को मावि काँक्री, भूमे–५ को आधारभूत विद्यालय सेराबाङ, भूमे–३ को मावि सिमा, भूमे–१ को मावि लुगुम, भूमे–४ को मावि काँडाको मतदान स्थल र केन्द्रको अनुगमन गर्नु भएको छ । हिजो शुक्रबार पनि भूमे–६, ७, ८ र ९ का विभिन्न मतदान केन्द्र र स्थलको अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक लालबहादुर बिकले जानकारी दिनुभयो ।

मतदानस्थल र केन्द्रको अवस्थाबारे सूक्ष्म तवरबाट बुझ्न जिल्ला सुरक्षा समितिले अनुगमन तथा निरीक्षण थालेको हो । टोलीले मतदानस्थल र मतदान केन्द्रको भौगोलिक अवस्था, सुरक्षा चुनौतीको अवस्था, यातायात सुविधा, नागरिकलाई मतदान गर्न आउँदाको सहजता लगायतबारे स्थलगत अनुमगन तथा निरीक्षण गरिएको जिल्ला प्रहरीका प्रवक्ता बिकले बताउनुभयो ।

जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सीता परियारको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग तथा सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा अनुगमन गरिराखिएको छ ।

निरीक्षणका क्रममा संवेदनशील तथा अति संवेदनशील मतदान केन्द्रहरूमा विशेष सुरक्षा रणनीति अपनाइने, आवश्यक सुरक्षाकर्मी परिचालन, कुनै पनि अप्रिय घटना हुन नदिन सतर्कता बढाइने जिल्ला सुरक्षा समितिका सदस्य एवम् जिल्ला प्रहरी कार्यालय प्रमुख एवम् डीएसपी उमाशङ्करप्रसाद यादवले बताउनुभयो । साथै, मतदान प्रक्रिया सहज र सुरक्षित बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय र सरोकारवाला बीच समन्वयलाई थप प्रभावकारी बनाइने डीएसपी यादवले जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल, उम्मेदवार, मतदाता तथा आम नागरिकलाई आ–आफ्नो स्थानबाट साथ, सहयोग गर्न समेत जिल्ला सुरक्षा समितिले आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०८२ , शनिबार
प्रतिक्रिया