गएको मंगलबार राति देखि बुधबार दिनभरीको हिमपातका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको रुकुम पूर्व खण्डमा आज बिहीबार अपरान्ह्देखि यातायात सुचारु भएको छ ।
भुमे गाउँपालिका, जिल्ला प्रशासन, सुरक्षाकर्मी र स्थानीय समेतको सक्रियतामा सडकमा रहेको हिउँ पन्छाएपछि बिहीबार अपरान्हदेखि आवतजावत हुन थालेको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी उमाशंकर प्रसाद यादवका अनुसार मंगलबार रातिदेखि अवरुद्ध सडक खुलाउन जिल्ला प्रशासन, भूमे गाउँपालिका समेतको सहयोगमा प्रहरी, सेना र सशस्त्र प्रहरीहरु खटिनु भएको थियो । गाउँपालिकाको जेसिबी मेसिनले हिउँ हटाउने र अलपत्र परेका यात्रुलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा गन्तव्यतर्फ पुर्याइएको हो।
बुधबारदेखि नै यातायात संचालन गर्ने प्रयास गरे पनि बिहीबार मात्रै सम्भव भएको उहाँले बताउनुभयो । यातायात सञ्चालनमा आए पनि तुसारो जमेर सडक चिप्लो हुने भएकाले रातिको समयमा सवारी नचलाउन अनुरोध गरिएको डीएसपी यादवले बताउनुभयो।
करिब ३ हजार २ सय मिटरसम्मको उचाईमा रहेको रुकुम पूर्व र बागलुङको सिमाना पातिहाल्ने र आसपासमा हरेक वर्ष हिमपातले यातायातमा प्रभावित हुँदै आएको छ।
डिएसपी यादवले स्थानीय सरकार र सुरक्षाकर्मीले अधिकतम प्रयास गर्दै आए पनि यस्ता काममा छुट्टै दक्ष जनशक्ति र अत्याधुनिक उपकरण नहुँदा मुस्किल हुने गरेको बताउनुभयो।








