शनिबार, वैशाख ५, २०८३

आउजाउमा सतर्कता अपनाउन जिल्ला प्रशासन रुकुमपूर्वको आग्रह



हिमपातका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग रुकुमपूर्व–बाग्लुङ सिमाना यिरनेता (पातिहाल्ने) ।

रुकुमपूर्वको विभिन्न क्षेत्रमा भारी हिपपात भइरहेकोले जिल्ला प्रशासन कार्यालयले आउजाउमा सतर्कता अपनाउन आग्रह गरेको छ । आज बुधबार सहायक प्रमुख जिल्ला अधिकारी समिर गौतमद्वारा हस्ताक्षरित एक सूचना मार्फत जिल्लावासीलाई हिमपात भइहेकोले आउजाउमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

मध्यपहाडी लोकमार्ग खण्ड अन्तर्गतको रुकुमपूर्व र बाग्लुङ सिमाना पर्ने यिरनेता (पातिहाल्ने) क्षेत्रमा भारी हिमपातका कारण सडक बन्द भएको छ । हिमपातका कारण सडक अवरुद्ध भई सवारी साधान आउजाउमा समस्या देखिएको प्रशासनको भनाइ छ ।

सूचनामा अत्यावश्यक काम बाहेक यात्रा नगर्न, अनावश्यक आवतजावत नगर्न र सम्भावित जोखिमबाट बच्न स्थानीय नागरिकलाई आग्रह गरिएको छ । साथै, हिमपातका कारण सवारी आगमनमा प्रभावित भएकाले जिल्ला स्थित यातायात व्यवसायीहरूलाई सडकको अवस्था पूर्ण रूपमा सुधार भएपछि मात्र सवारी सञ्चालन गर्न अनुरोध गरिएको छ ।

हिमपातसँगै चिसो बढेकाले पर्यटक, पदयात्री तथा हिमाल आरोहणमा जानेहरूलाई पनि विशेष सतर्कता अपनाउन जिल्ला प्रशासनले आग्रह गरेको छ । प्रशासनले सबै सरोकारवाला निकायलाई समन्वयमा रही जोखिम न्यूनीकरण तथा आवश्यक पूर्वतयारीमा जुट्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०८२ , बुधबार
प्रतिक्रिया