रुकुमपूर्व प्रहरीले जंगलको ओढारभित्र लुकाएर राखिएका ५ थान भरुवा बन्दुक फेला पारेको छ । जिल्लाको भूमे गाउँपालिका–८ स्थित सिपाखोलाबाट विशेष सूचनाको आधारमा गरिएको खोजतलासका क्रममा बेवारिसे अवस्थामा ती बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी रुकुमपूर्वका प्रवक्ता तथा प्रहरी निरीक्षक लालबहादुर विकका अनुसार बरामद हतियारमध्ये ४ वटा प्रयोग गर्न मिल्ने (चालु) अवस्थामा रहेका छन् भने एउटा बिग्रिएको अवस्थामा रहेको छ ।
गोप्य सूचनाका आधारमा हामीले अपरेसन चलाएका थियौँ,’ निरीक्षक विकले भन्नुभयो, जंगलको ओढारमा लुकाएर राखिएका ती बन्दुकहरू बरामद गरी हाल कार्यालयमा ल्याइएको छ ।’
सूचना अधिकारी विकका अनुसार ती हतियार कसले र कुन प्रयोजनका लागि राखेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको छ । आगामी निर्वाचन नजिकिँदै गरेको सन्दर्भमा जिल्लामा अवैध हतियारको प्रयोग हुन नदिन सुरक्षा निकायले निगरानी र कारबाहीलाई तीव्र बनाएको बताइएको छ ।








