रुकुम पूर्वमा सिस्ने गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ । आज मंगलबार सिस्ने गाउँपालिका–३ पोखराको मुलपानी खेल मैदानमा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगितामा ९ वटा सामुदायिक तथा १ वटा संस्थागत गरी जम्मा १० वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि मेघबहादुर श्रेष्ठले खेलकुदको माध्यमबाट खेलाडी तथा विद्यार्थीहरूले राष्ट्रिय स्तरमा देशलाई चिनाउन सफल भएको उल्लेख गर्नुभयो । “खेलकुदसँगै शिक्षालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ,” उहाँले भन्नुभयो, “रुकुम पूर्व हुँदै देशलाई चिनाउने खेलाडी उत्पादन गर्न सबै लाग्नुपर्छ।” प्रमुख श्रेष्ठले भन्नुभयो ।
विशेष अतिथि जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख मोहनबहादुर केसीले खेलकुदले अनुशासन, नेतृत्व र सहकार्यको भावना विकास गर्ने भन्दै विद्यार्थी जीवनमै खेलकुद संस्कृतिको विकास आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले खेलकुदमा जित–हार स्वाभाविक भए पनि हार्दा पनि अनुशासन कायम गरेर खेल्नु नै ठूलो उपलब्धि भएको बताउनुभयो ।
त्यस्तै पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले खेलकुदले विद्यार्थीलाई शारीरिक र मानसिक रूपमा सक्षम बनाउने भएकाले स्थानीय तहहरूले प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ । लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य हरी थापाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट प्रदेश तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन हुँदै आएको उल्लेख गर्दै रुकुम पूर्व खेलकुदको उर्वर भूमि बन्न सक्ने सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा अध्यक्षता गर्नुभएका सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले राष्ट्रपति रनिङ शिल्डले गाउँपालिका तहमा लुकेका प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले खेलकुदलाई संस्थागत गर्दै आगामी दिनमा थप पूर्वाधार र सहयोग बढाइने प्रतिबद्धता जनाउनुभयो ।प्रतियोगिता अन्तर्गत आज विभिन्न खेल विधामा विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको र अरु थप खेल भोलीबाट सञ्चालन हुने आयोजकले जनाएको छ ।
सातौँ राष्ट्रपति रनिङ शिल्ड उद्घाटन कार्यक्रममा सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डील्ली खड्का, सिस्ने गाउँ कार्यपालिकाका सदस्यहरु, ३ नम्बर वडा अध्यक्ष हेयराम खड्का तथा अन्य वडाका वडा अधयक्षहरु, तीनवटै गाउँपालिकाका युवा खेकुद तथा शिक्षा शाखा प्रमुखहरु, १० वटै विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, पत्रकार, विभिन्न साँस्कृतिक झाकी टिम लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन जनता मावि पोखराका प्रधानाध्यापक कलु खड्काले गर्नुभएको थियो ।








