शनिबार, वैशाख ५, २०८३

सशस्त्र प्रहरी रुकुमपूर्वको ८ औँ स्थापना दिवस भव्य रुपले मनाइयो



सशस्त्र प्रहरी बल, नेपाल गुल्म रुकुमपूर्वको ८ औँ स्थापना दिवस भव्य रुपले मनाइएको छ । आज सोमबार रुकुमकोटमा रहेको सशस्त्र प्रहरी बलको कार्यालयमा ८ औँ स्थापना दिवस भव्य रुपले बनाएको हो । सशस्त्र प्रहरी बल रुकुमपूर्वको ८ औँ स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी बलका उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत, मनोरञ्जन नृत्य लगायतको कार्यक्रम पनि गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सशस्त्र प्रहरी बलका एसएसपी नरेन्द्र बमले देशको सुरक्षा, विपद् व्यवस्थापन तथा जनसेवामा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले अनुशासन, निष्ठा र सेवाभावलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्न आश्रित गुल्म रुकुम पूर्वका सम्पूर्ण सशस्त्र प्रहरीलाई आग्रह गर्नुभयो । साथै उहाँले जिल्लास्थित गुल्म भौतिक संरचना लगायतका पक्षमा केही पछाडि रहेको उल्लेख गर्दै यसमा जिल्ला समन्वय समिति, राजनीतिक दल तथा सम्बन्धित निकायहरूले समन्वयात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । समारोहमा रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारले सुरक्षा निकायबीचको समन्वय, शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको योगदान उल्लेखनीय रहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीले दुर्गम भूगोलमा रहेर सशस्त्र प्रहरीले देखाएको सेवाभाव, अनुशासन र पेशागत प्रतिबद्धताको प्रशंसा गर्दै सीमा सुरक्षा, विपद् व्यवस्थापन र जनसेवामा सशस्त्र प्रहरीको भूमिका अझ सशक्त बन्दै जाने बताउनुभयो । समारोहमा विभिन्न निकायका शिष्टविशिष्ट व्यक्तित्वहरू, सुरक्षा निकायका प्रमुखहरू, सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अन्त्यमा कार्यक्रमको समापन गर्दै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रुकुम पूर्वका डिएसपी संगीत भट्टले गुल्मको आठौँ स्थापना दिवस समारोहमा महत्वपूर्ण समय दिएर उपस्थित भएका प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सम्पूर्ण अतिथिहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । गुल्मले आफ्नो आठौँ स्थापना दिवस मयुर नाच सहित विभिन्न अन्य नृत्यहरुलाई स्थान दिदै भव्य तथा सफल व्यवस्थापनका साथ सम्पन्न गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०८२ , सोमबार
प्रतिक्रिया