नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुमपूर्व चुनावमा होमिएको छ । आज बुधबार नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको पूर्ण बैठक रुकुमकोटमा बसी चुनावी कार्यक्रम सम्बन्धी निर्णय गरेको हो ।
चुनाव तयारीका लागि जिल्ला समितिको बैठक बसी विभिन्न निर्णय गरिएको नेकपा रुकुमपूर्वले जनाएको छ । पार्टीका नेताकार्यकर्ता गाउँगाउँमा पुगेर जिल्लाको थप विकासका लागि जनताका योजना संकलन कार्यमा लाग्ने पार्टीका जिल्ला संयोजक कुमारी बराल गौतमले बताउनुभयो । यसको लागि विभिन्न विभाग गठनका साथै नेताकार्यकर्ताको कार्यविभाजन समेत गरिएको संयोजकले बताउनुभयो ।
यस जिल्लामा नेकपाको जित निश्चित नै रहेको पार्टीका जिल्ला इञ्चार्ज तेजबहादुर ओलीले बताउनुभयो । त्यस कारण हाल सम्म गरिएका काममा थप काम गर्नका लागि जनताका घरदैलोमा पुगेर योजना संकलन गरिने ओलीको भनाइ छ ।
गाउँगाउँमा पुगेर पाँच वर्षको अवधिमा काम गर्न सकिने प्रतिवद्धता र त्यस अनुसारका योजना माग गर्ने केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले बताउनुभयो । आजको आवश्यकतालाई पूरा गर्न सकिने योजना र गौरवका बहुवर्षीय योजनाहरुको माग संकलन कार्यमा लाग्ने पुनको भनाइ छ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा नेकपा रुकुमपूर्वले नेकपाका संयोजक प्रचण्डलाई उम्मेदवार बनाएको छ । प्रचण्डसँगै विभिन्न पार्टी र स्वतन्त्र गरी १२ जनाको उम्मेदवार परेको छ ।








