नेकपा एमाले रुकुमपूर्वका पूर्व जिल्ला अध्यक्ष टोपबहादुर ओली सहित १० जना नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नु भएको छ । आज मंगलबार रुकुमपूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले एमालेका पूर्व जिल्ला अध्यक्ष ओली सहित १० जनालाई नेकपामा स्वागत गर्नु भएको हो ।
ओली सहित २०७९ सालका प्रदेश निर्वाचन क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार नरहरि खड्का, एमालेका जिल्ला उपसचिव केशकुमारी तुलाचन, एमालेका जिल्ला सचिवालय सदस्य ताराप्रसाद पुन, अमृतधन पुन, पूर्णबहादुर बुढाथोकी, रविन्द्र ओली, एसकेजङ ओली यसैगरी कालिबहादुर समाल, नेकपा बहुमतका तेजकुमारी मल्ल र नेपाली काँग्रेसका कमल बुढामगरले नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नु भएको छ ।
एमालेका नेतृत्व नीति र विधि विपरित व्यक्ति केन्द्रीत भएपछि आफूहरुले उक्त पार्टी छोडेको एमालेका पूर्व जिल्ला अध्यक्ष ओलीले बताउनुभयो । एमालेमा काम गर्ने कार्यकर्ताको कदर नभएको उहाँहरुको भनाइ रहेको छ । पार्टीमा स्वागत पछि संयोजक प्रचण्डले नेकपामा उहाँहरुलाई उचित पद दिइने बताउनुभयो ।









