बिहीबार, वैशाख ३, २०८३

रुकुमपूर्वमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा सहभागी अतिथिहरु । तस्बिरः दुबोपाती ।

रुकुमपूर्वमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज शुक्रबार सिस्ने गाउँपालिका–५ मा रहेको रुकुमकोट स्थित कमलदह नजिकमा रहेको पाहुनाघरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि रुकुमपूर्वमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वका जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताउनुभयो । यस जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मात्र रहेको छ ।

मुख्य निर्वाचन कार्यालय स्थापना भइसकेकोले अब आयोगले दिएको कार्यतालिका अनुसार निर्वाचन व्यवस्थापनका कार्य सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी शर्माले जानकारी दिनुभयो । जिल्लामा पुरुष मतदाता १७ हजार ५ सय ८२ जना र महिला मतदाता १७ हजार १ सय ९० जना गरी जम्मा ३४ हजार ७ सय ७२ जना मतदाता रहेको शर्माले बताउनुभयो । २०७९ को निर्वाचनमा यस जिल्लामा ३४ हजार १ सय १२ जना मतदाता रहेकोमा यस पटक ६ सय ६० जना मतदाता थपिएका छन् । भने मतदान स्थल ४४ र मतदान केन्द्र ५६ वटा रहेको छ ।

उम्मेदवार मनोनयन दर्ता माघ ६ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म मुख्य निर्वाचनको कार्यालय, मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन माघ ६ गते साँझ ५ देखि साँझ ७ बजे सम्म, उम्मेदवारको विरोधमा उजुरी दिने माघ ७ गते बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म, उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने माघ ७ र ८ गते दिउँसो ३ बजे देखि साँझ ५ बजे सम्म रहेको छ । यसैगरी उम्मेदवारको नामावली प्रकाशन माघ ८ गते साँझ ५ बजे देखि साँझ ७ बजे सम्म, उम्मेदवारको नाम फिर्ता लिने माघ ९ गते बिहान १० बजे देखि दिउँसो १ बजे सम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ९ गते दिउँसो १ बजे देखि ३ बजे सम्म, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान माघ ९ गते बेलुका ४ बजे देखि साँझ ७ बजे सम्म र मतदान फागुन २१ गते बिहान ७ बजे देखि साँझ ५ बजे सम्म रहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, मुख्य निर्वाचन अधिकृत एवम् रुकुमकोट जिल्ला अदालतका जिल्ला न्यायाधीश शिवप्रसाद खनाल यसैगरी प्रमुख जिल्ला अधिकारी सीता परियार, सहायक निर्वाचन अधिकृत एवम् जिल्ला अदालतका स्रेस्तेदार ईश्वरीप्रसाद सुवेदी, नेपाली सेनाका सेनानी चित्रबहादुर बुढाथोकी, नेपाल प्रहरीका डीएसपी उमाशङ्करप्रसाद यादव, सशस्त्र प्रहरीका डीएसपी संगित भट्ट, अनुसन्धान अधिकृत सुमनकुमार भण्डारी, जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २ माघ २०८२ , शुक्रबार
प्रतिक्रिया