नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुमपूर्वले फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यका लागि नाम सिफारिस गरेको छ । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको पुस ९ गते बसेकोे पूर्ण बैठक र पुस १० गते बसेको जिल्ला कार्यालयको बैठक अनुसार नेकपाले प्रतिनिधिसभा सदस्य प्रत्यक्ष उम्मेदवार तर्फ ९ जनाको नाम केन्द्रीय पार्टी कार्यालयमा सिफारिस गरेको हो ।
प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फ गणेशमान पुन, दलजित शेर्पाली, तेजबहादुर ओली, जितमान पुन, सुबोधराज शेर्पाली, लालबहादुर विष्ट, कैलाश मल्ल, चन्द्र रसाइली र सर्जना कार्कीको नाम केन्द्रीय पार्टी कार्यालयमा सिफारिस गरिएको नेकपा रुकुमपूर्वको स्रोतले जनाएको छ । १ जनामा सहमति हुन नसकेपछि ९ जनाको नाम केन्द्रमा पठाइएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार ९ गते बसेको जिल्ला पार्टीको बैठकमा १५ जनाले प्रतिनिधि सभा प्रत्यक्ष तर्फ दाबी गर्नु भएको थियो । आज बिहीबार जिल्ला कार्यालयको बैठकमा १५ जनाबाट ९ जनामा झर्नु भएको छ ।
यसैगरी प्रतिनिधि सभा समानुपातिक तर्फ ५ जनाको नाम सिफारिस गरिएको छ । सुनिता बुढा (महिला), दिपेन्द्र छन्त्याल (अल्पसंख्यक), टिकाराम उपाध्याय (अन्य), हर्कबहादुर कामी (दलित) र उपेन्द्रलाल कामी (दलित)बाट समानुपातिक तर्फ उम्मेदवारको सिफारिस हुनु भएको छ ।








