नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमपूर्व र फेयरमेड फाउन्डेशन नेपालको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाको कार्य सम्पादनबारे जिल्ला स्तरीय अनुगमन गरिएको छ । आज मंगलबार सम्बोधन परियोजना मार्फत जिल्ला स्थित स्वास्थ्य संस्थामा दिइएको स्वास्थ्य सामग्री, उपकरण, सचेतनामुलक कार्यक्रम र भौतिक संरचना निर्माणको अवस्थाबारे जिल्ला स्तरीय अनुगमन गरिएको हो ।
मिक नेपाल र फेयरमेडको साझेदारीमा जिल्लाका स्वास्थ्यमा विभिन्न सहयोग र सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । जसमा आज मंगलबार सिस्ने गाउँपालिका–८ धपे स्थित स्यालापाखा स्वास्थ्य चौकी र भूमे गाउँपालिका–४ काँडा स्वास्थ्य चौकीको अनुगमन गरिएको मिक नेपालका उपाध्यक्ष वेदना बुढामगरले जानकारी दिनुभयो । भने भोलि बुधबार पुथाउत्तरगंगा गाउँपालिका–१४ स्वास्थ्य चौकी राङ्सी र सोही वडाको सामुदायिक स्वास्थ्य इकाइ नाखाको अनुगमन गर्ने कार्यक्रम रहेको उपाध्यक्ष बुढामगरले बताउनुभयो । यस पटकको अनुगमन तीन गाउँपालिकाको एक–एक वटा स्वास्थ्य चौकीको अनुगमन गर्ने कार्यक्रम रहेको उहाँको भनाइ रहेको छ ।
यद्यपि सम्बोधन परियोजना मार्फत जिल्लाका सबै स्वास्थ्य संस्थामा विभिन्न स्वास्थ्य सामग्री, उपकरण, सचेतनामुलक कार्यक्रम र परियोजनाले धान्न सक्ने भौतिक संरचना निर्माण र मर्मत गर्दै आएको उपाध्यक्षले बताउनुभयो ।
अनुगमनका क्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले संस्थाले परियोजना मार्फत जिल्लाका स्वास्थ्य संस्थामा धेरै राम्रा काम गर्दै आएको देखिएको बताउनुभयो । संस्थाको सहयोगले जिल्लाका स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा प्रवाह भइरहेको श्रेष्ठको भनाइ छ । सरकारको सहकार्यमा संस्थाले गरेको काम प्रभावकारी देखिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।
यसैगरी प्रमुख जिल्ला अधिकारी सीता परियारले स्वास्थ्य संस्थामा संस्थाको परियोजना मार्फत धेरै लगानी गरेको पाइएको बताउनुभयो । संस्थाले गरेको लगानीले सेवामा सहज भइरहेको पाइएको समेत सिडिओ परियारको भनाइ छ ।
अनुगमनमा जिसस प्रमुख मेघबहादुर श्रेष्ठ, उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, प्रमुख जिल्ला अधिकारी सीता परियार यसैगरी सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले, भूमे गाउँपालिकाका उपाध्यक्ष सविना बुढामगर, स्वास्थ्य कार्यालयका प्रमुख पशुपति आचार्य, सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का, भूमे स्वास्थ्य शाखाका प्रमुख उपेन्द्र यादव, सिस्ने स्वास्थ्य शाखाका प्रमुख सुरेन्द्रप्रसाद यादव, फेयरमेड फाउन्डेशन नेपाल सम्बोधन परियोनाका टिम लिडर गणेश वरुवाल, मिक नेपालका उपाध्यक्ष वेदना बुढामगर लगायतको उपस्थिति रहेको थियो ।








