मंगलबार, जेठ १९, २०८३

मिक नेपालद्वारा भूमेलाई १४ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण



नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमपूर्वले भूमे गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । आइतबार फेयरमेड फाउन्डेशन नेपाल र आइपास नेपालसँगको साझेदारीमा सञ्चालित परियोजना मार्फत मिकले भूमेलाई १४ लाख रुपियाँको विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

जिल्लामा मिक नेपाल र फेयरमेड फाउन्डेशनसँग साझेदारीमा सम्बोधन परियोजना यसैगरी मिक नेपाल र आइपास नेपालसँगैको साझेदारीमा नेपालमा जलवायु उत्थानशीलता र यौन तथा प्रजनन स्वास्थ्य सुधार परियोजना सञ्चालन रहेको छ । मिक नेपालले यी दुई संस्थासँगको साझेदारीमा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।

फेयरमेडसँगको साझेदारीमा साढे ७ लाख रुपियाँ र आइपास नेपालसँगको साझेदारीमा साढे ६ लाख रुपियाँ गरी मिक नेपालले १४ लाख रुपियाँ बराबरको विभिन्न स्वास्थ्य सामग्री भूमे गाउँपालिकालाई हस्तान्तरण गरिएको मिक नेपालका कार्यक्रम व्यवस्थापक मुकुन्द पुनमगरले बताउनुभयो ।
प्रसूति कक्षमा आवश्यक विभिन्न स्वास्थ्य सामग्री, दराज, टेलुब र स्वास्थ्य संस्थामा आवश्यक पर्ने आधारभूत स्वास्थ्य सामग्री गरी विभिन्न २२–२६ प्रकारको स्वास्थ्य सामग्री मिक नेपालका अध्यक्ष ललिता बुढामगर र उपाध्यक्ष वेदना बुढामगरले भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ, उपाध्यक्ष सविना बुढामगरलाई हस्तान्तरण गर्नुभएको छ । उक्त सामग्री बुझ्नु हुँदै अध्यक्ष श्रेष्ठले संस्थालाई धन्यवाद दिनु भएको छ । साथै अभाव रहेको सामग्री संस्थाले सहयोग गरेको श्रेष्ठले खुसी व्यक्त गर्नुभयो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मिक नेपालका अध्यक्ष ललिता बुढामगर, उपाध्यक्ष वेदना बुढामगरसँगै फेयरमेड फाउन्डेशन रुकुमपूर्वका स्वास्थ्य प्रवद्र्धक अधिकृत दानबहादुर कार्की, मिक नेपालका कार्यक्रम व्यवस्थापक मुकुन्द पुन, सम्बोधन परियोजनाका संयोजक राजेश रानामगर लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ७ पुस २०८२ , सोमबार
प्रतिक्रिया