शनिबार, वैशाख ५, २०८३

मिक नेपालद्वारा रुकुमपूर्व अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग



नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमपूर्वले रुकुमपूर्व अस्पतालमा विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । आज शनिबार मिक नेपालसँग साझेदारी फेयरमेड फाउन्डेशन नेपाल र आइपास नेपालले रुकुमपूर्व अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

जिल्लामा मिक नेपाल र फेयरमेड फाउन्डेशनसँग साझेदारीमा सम्बोधन परियोजना यसैगरी मिक नेपाल र आइपास नेपालसँगैको साझेदारीमा नेपालमा जलवायु उत्थानशीलता र यौन तथा प्रजनन स्वास्थ्य सुधार परियोजना सञ्चालन रहेको छ । मिक नेपालले यी दुई संस्थासँगको साझेदारीमा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।

फेयरमेडसँगको साझेदारीमा ४ लाख रुपियाँ र आइपास नेपालसँगको साझेदारीमा पौने २ लाख रुपियाँ गरी मिक नेपालले जम्मा पौने ६ लाख रुपियाँ बराबरको विभिन्न स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको मिक नेपालका कार्यक्रम व्यवस्थापक मुकुन्द पुनमगरले बताउनुभयो ।

प्रसूति बेड, सिरक, डस्ना, दराज, खाना पकाउने ग्याँस र चुलो त्यसैगरी भान्छामा खाना पकाउन आवश्यक पर्ने आधारभूत सम्पूर्ण सामग्री र टेबुल लगायतको विभिन्न २८–३० प्रकारको स्वास्थ्य सामग्री मिक नेपालका सचिव जयमान बुढामगरले रुकुमपूर्व अस्पतालका प्रमुख डाक्टर कृष्ण खराललाई हस्तान्तरण गर्नुभएको छ । उक्त सामग्री बुझ्नु हुँदै डाक्टर खरालले संस्थालाई धन्यवाद दिनु भएको छ । साथै अभाव रहेको सामग्री संस्थाले सहयोग गरेको डाक्टर खरालले खुसी व्यक्त गर्नुभयो ।

अस्पतालमा आवश्यक पर्ने सामग्री माग गरेपछि मिक नेपालले उक्त सामग्री सहयोग गरेको मिक नेपालका सचिव बुढामगरले बताउनुभयो । मिक नेपालले सहयोग गरेको सामग्री केही औषधि उपचार गर्ने क्रममा उपयोग गर्ने सामग्री छन् भने केही सामग्री अस्पतालमा भर्ना भएका बिरामी र बिरामी कुरुवालाई उक्त सामग्री उपयोग हुने बुढामगरको भनाइ रहेको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मिक नेपालका सचिव जयमान बुढामगरसँगै फेयरमेड फाउन्डेशन रुकुमपूर्वका स्वास्थ्य प्रवद्र्धक अधिकृत दानबहादुर कार्की, मिक नेपालका कार्यक्रम व्यवस्थापक मुकुन्द पुन, सम्बोधन परियोजनाका संयोजक राजेश रानामगर र सम्बोधन परियोजनाका प्राविधिक अधिकृत मदन शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ पुस २०८२ , शनिबार
प्रतिक्रिया