बिहीबार, वैशाख ३, २०८३

मिकद्वारा पुथाउत्तरगंगालाई ११ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण



नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र मिक नेपाल रुकुमपूर्व र फेयरमेड फाउन्डेशन नेपालद्वारा साझेदारी सम्बोधन परियोजनाले पुथाउत्तरगंगा गाउँपालिकालाई साढे ११ लाख रुपियाँको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार पुथाउत्तरगंगा गाउँपालिका तकसेरामा पुगेर संस्थाले साढे ११ लाख रुपियाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

गाउँपालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्थालाई आवश्यक परेको स्वास्थ्य सामग्री सहयोग गरिएको सम्बोधन परियोजनाका संयोजक राजेश रानामगरले बताउनुभयो । भिडियो एक्सरे मेसिन, दराज, बेबी वारमर, हिटर, प्रसूति कक्षमा आवश्यक सामग्री एवम् स्वास्थ्य संस्थामै आवश्यक आधारभूत सामग्रीसँगै अपाङ्गता र ज्येष्ठ नागरिकका लागि लठ्ठी लगायत १५–२० प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको रानामगरले जानकारी दिनुभयो ।

संस्थाले सम्बोधन परियोजना मार्फत स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको मिक नेपालका उपाध्यक्ष वेदना बुढामगरले बताउनुभयो । जनस्तरमा स्वास्थ्य सचेतना कार्यक्रमसँगै जिल्लाका स्वास्थ्य संस्थामा आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गर्नुका साथै परियोजनाबाट धान्न सक्ने अनुसारको स्वास्थ्यको भौतिक संरचना समेत निर्माण र मर्मत गर्ने गरिएको उपाध्यक्ष बुढामगरले जानकारी दिनुभयो । वडा, पालिका र स्वास्थ्य संस्थाले माग गरे अनुसार संस्थाले स्वास्थ्यमा सहयोग गर्दै आएको बुढामगरको भनाइ छ ।

गाउँपालिकाको तर्फबाट स्वास्थ्य सामग्री बुझ्नु हुँदै पुथाउत्तरगंगा–१० का वडाध्यक्ष भरत बुढा र ११ का वडाध्यक्ष कुमार सिंहले संस्थाले स्वास्थ्यमा धेरै लगानी गरिराखेको बताउनुभयो । संस्थाले स्वास्थ्य संस्थामा गर्ने गरेको यो सहयोगले हाल स्वास्थ्यमा ठूलो राहत मिलिराखेको वडाध्यक्षद्वयको भनाइ रहेको छ ।

प्रकाशित मिति : ५ पुस २०८२ , शनिबार
प्रतिक्रिया