बिहीबार, वैशाख ३, २०८३

भूमे–७ को वडा कार्यालय भवन उद्घाटन



भूमे–७ को नवनिर्मित वडा कार्यालयको भवन ।

रुकुमपूर्व भूमे गाउँपालिका–७ नम्बर वडाको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । आज सोमबार जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ, उपाध्यक्ष सविना बुढामगर, वडाध्यक्ष संगम रोकामगर लगायतको उपस्थितिमा वडा कार्यालयको भवन उद्घाटन गरिएको हो ।

भूमे–७ को वडा कार्यालय धर्मशालामा रहेको छ । ढोटे रोका, धनलाल रोका, वसन्त रोका, फर्के रोका, उजेलसरी रोका, जंगे रोका र संगम रोका लगायत स्थानीयले वडालाई जग्गा दान गरेपछि वडा कार्यालयको प्रशासनिक भवन निर्माण गरिएको हो । उक्त वडा कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्नु हुने व्यक्तिको नाम शिलालेखमा लेखिनुका साथै गाउँपालिकाले कदर पत्रले समेत सम्मान गरेको छ ।

भवन निर्माणका लागि रोल्पा नगरपालिका–२ रोल्पाको शुभम निर्माण सेवा कम्पनीले २०८० माघ २६ गते वडा कार्यालयको प्रशासनिक भवन निर्माणको सम्झौता गरेकोमा भवन निर्माण गरिसक्ने अवधि २०८२ माघ २६ गते सम्म रहेको थियो । तर, ठेकेदारले सम्झौता मिति भन्दा एक महिना अघि नै भवन निर्माण गरेको छ । नेपाल सरकार र भूमे गाउँपालिकाको समपुरक बजेट २ करोड ४९ लाख ७६ हजार १ सय ४३ रुपियाँमा भवन निर्माण भएको छ ।

भवन उद्घाटन भएसँगै वडाले नयाँ आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । यो भन्दा अघि कोठा भाडामा वडा कार्यालय बसेको थियो ।
वडाध्यक्ष संगम रोकामगरको अध्यक्षतामा वडा कार्यालयको भवन उद्घाटन गरिएको हो । प्रमुख अतिथिमा जिसस प्रमुख मेघबहादुर श्रेष्ठ र विशेष अतिथिमा भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ र उपाध्यक्ष सविना बुढामगरको रहेको थियो भने अन्य अतिथिमा भूमेका विभिन्न वडाका वडाध्यक्षहरु लगायतको आतिथ्यता रहेकोमा स्वागत मन्तव्य वडा सचिव लोकेन्द्र ओलीले राख्नु भएकोमा कार्यक्रमको सञ्चालन चन्द्र रसाइलीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८२ , सोमबार
प्रतिक्रिया