नेपाल पत्रकार महासंघ रुकुमपूर्वका सचिव निराजन सिर्पालीले आफ्नो जन्मदिनको अवसरमा प्रेस सेन्टर नेपाल रुकुमपूर्वलाई स्वर्गीय विक्रम परियारको नाममा अक्षयकोष स्थापनार्थका लागि आर्थिक सहयोग गर्नु भएको छ । सचिव सिर्पालीले आफ्नो जन्मदिनको अवसर पारी स्वर्गीय पत्रकार विक्रमको नाममा अक्षयकोष स्थापनाका लागि आज बिहीबार १० हजार १ सय १५ रुपियाँ प्रेस सेन्टर नेपाल रुकुमपूर्वलाई हस्तान्तरण गर्नुभएको हो ।
पत्रकार स्वर्गीय विक्रम प्रेस सेन्टर रुकुमपूर्वका तत्कालीन उपाध्यक्ष एवम् पत्रकार महासंघ रुकुमपूर्वका संस्थापक सहसचिव हुनुहुन्थ्यो । २०८० चैत्र ५ गते रुकुमकोटबाट काठमाडौं जाँदै गर्दा बाग्लुङमा बस दुर्घटनामा परी विक्रमको निधन भएको थियो ।
सचिव सिर्पालीले आफू पत्रकार भएकोले स्वर्गीय विक्रमको नाममा अक्षयकोष स्थापनाको लागि प्रेस सेन्टरलाई आर्थिक सहयोग गरेको बताउनुभयो । प्रेस सेन्टर नेपाल रुकुमपूर्वका अध्यक्ष जयमान बुढामगरले विक्रम स्मृति अक्षयकोष स्थापना गरी विक्रम स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्ने बताउनुभयो । साथै अक्षयकोष सञ्चालनका लागि कार्यविधि बनाउने अध्यक्ष बुढामगरले बताउनुभयो । अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गर्नु हुने पत्रकार सिर्पालीलाई सेन्टरको तर्फबाट अध्यक्ष बुढामगरले धन्यवाद दिनुभयो ।
पत्रकार सिर्पालीद्वारा रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ रुकुमपूर्वका अध्यक्ष वशन्त बाँठामगर, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष चन्द्र रसाइली, पत्रकार महासंघका उपाध्यक्ष बालाराम शेर्पाली, सहसचिव विरस थापाको उपस्थिति रहेको थियो ।








