रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुकुमकोट स्थित कोट माध्यमिक विद्यालय रुमालबारमा पत्रकार स्वर्गीय विक्रम परियारको नाममा अक्षयकोष स्थापना गरिएको छ । कोट मावि रुमालबाराका पूर्व विद्यार्थी समेत रहनु भएका पत्रकार स्वर्गीय विक्रम परियारको नाममा आज बुधबार ५० हजार रुपियाँको अक्षयकोष स्थापना गरिएको हो ।
रश्मा नेपालीले छोरा पत्रकार स्वर्गीय विक्रमका नाममा अक्षयकोष स्थापना गर्नु भएको हो । नेपालीले छोरा विक्रमको नाममा विद्यालयलाई ५० हजार रुपियाँको ‘विक्रम परियार गरिब तथा जेहेन्दार शैक्षिक उत्थान अक्षयकोष’ स्थापना गर्नु भएको छ । उहाँले सो नगद रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर नेपाली, सिस्ने गाउँकार्यपालिका सदस्य सुर्य नेपाली, विद्यालयका प्रधानाध्यापक सरदचन्द्र समाललाई हस्तान्तरण गर्नुभयो ।
पत्रकार विक्रमको निधन भएको दिन हरेक वर्ष चैत्र ५ गतेलाई विक्रम स्मृति दिवस मनाउँदै अक्षयकोष रकमको जम्मा भएको व्याजले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पुरस्कार वितरण गरिने विद्यालयका प्रअ सरदचन्द्र समालले बताउनुभयो । अक्षयकोष सञ्चालनका लागि कार्यविधि भइसकेको प्रअ समालले जानकारी दिनुभयो । हाल स्थापना गरिएको मुलधन रकममा इच्छुक व्यक्तिले रकम थप्न सक्ने उहाँको भनाइ छ ।
२०८० चैत्र ५ गते रुकुमकोट देखि काठमाण्डौँ जाने क्रममा बाग्लुङमा बस दुर्घटना हुँदा पत्रकार विक्रमको निधन भएको थियो । स्वर्गीय विक्रम नेपाल पत्रकार महासंघ रुकुमपूर्वका संस्थापक सहसचिव र प्रेस सेन्टर नेपाल रुकुमपूर्वका तत्कालिन उपाध्यक्ष हुनुहुन्थ्यो भने विभिन्न मिडियामा कार्यरत हुनुहुन्थ्यो ।








