रुकुमपूर्वमा नेकपा एमालेको जनप्रदर्शन तथा जनसभा कार्यक्रम गरेको छ । आज शनिबार सिस्ने गाउँपालिका–५ र ६ रुकुमकोटमा एमाले रुकुमपूर्वले जनप्रदर्शन तथा जनसभा कार्यक्रम गरेको हो ।
सिस्ने–६ छिप्रिदह देखि कैँचीमोड, सिस्ने–५ कमलदह, चोकबजार हुँदै पुनः छिप्रिदह बजार ¥याली गरिएको थियो । छिप्रिदह बजारमा कोणसभा गरी जनसभा समापन गरेको हो ।
जनसभालाई सम्बोधन गर्नु हुँदै एमाले रुकुमपूर्वका इञ्चार्ज संविधानको रक्षाका निम्ति देशभर जनसभा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । जेएनजीको नाममा देश र संविधान विरोधी, राष्ट्रघाती तत्वहरुले आन्दोलनलाई हिंसात्मकमा बद्लिदिएको इञ्चार्ज खड्काले बताउनुभयो । संविधान र राष्ट्रको हितका लागि लोकतान्त्रिक दलहरु एक भएर अघि बढ्नु पर्ने खड्काको भनाइ छ । भदौ २३ र २४ गते भएको आन्दोलनमा हिंसात्मक कार्यमा संलग्न सबैलाई कानुनी दायरामा लिनु पर्ने सरकारसँग माग समेत खड्काले राख्नुभयो ।
संविधानको रक्षा नभए देशको सुरक्षा नहुने भएकोले संविधान र देशको रक्षाका लागि एमालेले जनसभा कार्यक्रम गरेको केन्द्रीय सल्लाहकार सदस्य नन्दलाल शर्माले बताउनुभयो । लोकतन्त्र र संविधान विपरित कार्य नगर्न एमालेका रुकुमपूर्व अध्यक्ष सरकारलाई खबरदारी गर्नुभयो । लोकतन्त्र र संविधानको रक्षाका लागि एमाले सधैंव प्रतिवद्ध रहेको अध्यक्ष गौतमले बताउनुभयो ।








