रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुकुमकोटमा रहेको बिएलबी होटेलमा नेपाल जनजागरण मञ्च रुकुम पश्चिमले सामाजिक परीक्षण कार्यक्रम गरेको छ । आज बिहीबार जनजागरण मञ्चले आर्थिक वर्ष २०८१/०८२ मा गरेका आफ्ना कार्य सम्पादनको अवस्थाबारे सामाजिक परीक्षण गरेको हो ।
युनाइटेड मिसन टु नेपाल रुकुमपूर्व क्लष्टर (युएमएन)को आर्थिक सहयोगमा जनजागरण मञ्चले रुकुमपूर्वमा विभिन्न परियोजना सञ्चालन गरिराखेको छ । जनजागरण मञ्चले मानसिक स्वास्थ्य, अपाङ्गताको पुर्नस्थापना, फरक क्षमता भएका व्यक्तिका लागि आयआर्जन लगायत क्षेत्रमा काम गर्दै आएको छ ।
सामाजिक परीक्षणमा परियोजनागत कार्यक्रम संयोजकले गएको आर्थिक वर्षमा भएका कामको अवस्थाबारे प्रस्तुतिकरण गर्नु भएको थियो । भने सहभागी लाभग्राही र सरोकारवाला निकायले संस्थाले गरेको कामले सहयोग पुगेको अवस्थाबारे र थप कामका लागि सल्लाह सुझाव व्यक्त गर्नु भएको थियो ।
संस्थाको कामले सरकारले गर्नु पर्ने कामकाजमा थप साथ र सहयोग पुगिराखेको कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीले बताउनुभयो । सामाजिक परीक्षणले कार्यालय वा संस्थाको सुशासन, पारदर्शिता र जवाफदेहिता सुदृढ गर्ने महत्वपूर्ण अभ्यास रहेको उपप्रमुख केसीले बताउनुभयो । जिल्लाका नागरिकको स्वास्थ्य र उहाँहरुको जीविकोपार्जनमा थप सहयोग गर्ने खालका कार्यक्रम अझै आवश्यक रहेको उहाँको भनाइ छ ।
यसैगरी कार्यक्रमका विशेष अतिथि एवम् पूर्व जिल्ला विकास समितिका सभापति खेममान खड्काले संस्थाले गरेका काम प्रशंसा योग्य रहेको बताउनुभयो । संस्थाले गरेका कामले दुर्गम गाउँवस्तीका नागरिकको स्वास्थ्य अवस्था सुधारसँगै आयआर्जनमा समेत सहयोग गरिराख्नु भएको खड्काले बताउनुभयो ।
जिल्लाको नागरिकको स्वास्थ्य सुधार गर्नमा जिल्ला स्थित संस्थाको पनि ठूलो योगदान रहेको स्वास्थ्य कार्यालयका प्रमुख पशुपति आचार्यले बताउनुभयो । यसैगरी रुकुमपूर्व अस्पतालका प्रमुख कृष्ण खरालले अस्पतालमा पनि मानसिक स्वास्थ्यका लागि मनोपरामर्श कक्ष र सहजकर्ताको आवश्यक रहेकोले उक्त कक्ष स्थापनाका लागि जिल्ला स्थित सम्बन्धीत कार्यालय र संस्थासँग सल्लाह भइरहेको बताउनुभयो ।
नेपला जनजागरण मञ्चका अध्यक्ष टेकबहादुर कुसारीको अध्यक्षता र प्रमुख अतिथिमा जिससका उपप्रमुख मोहनबहादुर केसीको रहेको थियो । भने विशेष अतिथिमा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, पूर्व जिविस सभापति खेममान खड्काको रहेकोमा अन्य अतिथिमा सहायक प्रमुख जिल्ला अधिकारी जीवनकुमार खड्का, जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी उमाशंकरप्रसाद यादव, स्वास्थ्य कार्यालयका प्रमुख पशुपति आचार्य, रुकुमपूर्व अस्पतालका प्रमुख कृष्ण खराल लगायत विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधिको आतिथ्यता रहेकोमा कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघका सचिव निराजन सिर्पालीले गर्नु भएको थियो ।









