स्थानीय युवाहरूलाई सरकारी सेवामा प्रवेश गर्न प्रोत्साहित गर्ने उद्देश्यले रुकुमपूर्वको भूमे गाउँपालिकाले निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले गाउँपालिका भित्रका युवालाई सरकारी जागिरमा प्रवेश गराउनका लागि निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गरेको हो ।
तयारी कक्षामा कम्तीमा पनि एसएलसी/एसइइ उत्र्तीण भएका विद्यार्थीलाई सहभागी गराइएको छ । लोकसेवा आयोग तयारी कक्षामा विद्यार्थी तथा बेरोजगार युवाहरूको उत्साहजनक सहभागिता रहेको गाउँपालिकाले जनाएको छ । कक्षामा अनुभवी प्रशिक्षकहरूद्वारा नायब सुब्बा, खरिदार तथा सहायक पाँचौ, चौथो, आधारभूत तहको शिक्षक सेवा आयोग तथा अध्ययन अनुमती पत्रसँगै तीन महिने आधारभूत कम्प्युटर कक्षा समेत सञ्चालन गरिएको छ । खाबाङबगर गाउँपालिकाकै हलमा तयारी कक्षा सञ्चालन गरिएको छ ।
गाउँमा नै गुणस्तरीय तयारी कक्षाको सुविधा उपलब्ध गराएर आर्थिक रूपले कमजोर युवालाई अवसर प्रदान गर्ने मुख्य उद्देश्यले लोकसेवाको तयारी कक्षा सञ्चालन गरिएको भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविलाल बिकले बताउनुभयो । बिकले भन्नुभयो, “लोकसेवा तयारीका लागि अन्यत्र जाँदा विद्यार्थीलाई आर्थिक भार परिराखेको छ । तयारी कक्षा लिन विद्यार्थीलाई आर्थिक भार नपरोस्, पैसा खर्च नगरेर नै स्थायी जागिरमा प्रवेश गरुन् भन्ने गाउँपालिकाको उद्देश्य रहेको छ ।” यसले गर्दा एकातिर विद्यार्थीलाई आर्थिक भार नपर्नेभयो र अर्कोतिर दुर्गम गाउँका विद्यार्थीलाई लोकसेवा तिर आकर्षण गराउने गाउँपालिकाको सोचेको बिकको भनाइ छ ।









