आइतबार, जेठ १७, २०८३

थबाङ केन्द्रीय बिजुलीसँग जोडियो



रोल्पा थबाङ गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय विद्युत पुगेको छ । थबाङ गाउँमा केन्द्रीय विद्युत पुगेपछि केन्द्रीय विद्युत वितरण केन्द्र रोल्पाको समन्वय र गाउँपालिकाको आयोजनामा आइतबार उद्घाटन गरिएको हो ।

थबाङ गाउँपालिका–१ र २ को गल्चोर, मराङ्थान र ठूलो गाउँमा केन्द्रीय विद्युत पुगेको हो । जनयुद्धपछि देशमा विकास निर्माणले धेरै फट्को मारिराखेको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् लुम्बिनी प्रदेशसभाका सदस्य दिपेन्द्रकुमार पुनले बताउनुभयो । विकासको नियम सधैँ सापेक्ष हुने भएकोले समय अनुसार विकासको रुपले फरक फरक ढंगबाट हुने गरेको उहाँको भनाइ छ । हाल अन्य विकसित देशसँग तुलना गर्दा यहाँको विकास कम नै रहेको उहाँले बताउनुभयो । यद्यपि यहाँकै विगत र वर्तमानसँग तुलना गर्दा विकासको गति छिटोछरितो अवस्थाको रहेको पुनले बताउनुभयो । त्यसैले भएका विकासलाई सही रुपले सदुपयोग गर्नु पर्ने उहाँको भनाइ छ । यद्यपि जनप्रतिनिधिलाई सजक र सल्लाह सुझाव दिइराख्नु पर्ने सांसद् पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “रोल्पामा करिब ५२ हजारभन्दा बढी घरधुरी छन् । अहिले करिब ७५ प्रतिशत घरमा केन्द्रीय विद्युत पुगेको छ । २०६४ सालअघि विद्युतको पहुँच जम्मा १९ प्रतिशत मात्र थियो, अहिले आएर रोल्पा विद्युत क्षेत्रमा फड्को मारेको छ ।” रोल्पाबाट पटकपटक अर्थ मन्त्री हुँदा जिल्लामा धेरै बजेट ल्याउन सकिएको र त्यसकै परिणामस्वरूप आज थबाङसम्म विद्युत पुगेको उहाँको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रोल्पाका कार्यालय प्रमुख अशेश्वर शाहले लामो समयको प्रयास र चुनौतीपछि थबाङमा केन्द्रीय विद्युत लाइन पु¥याउन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत पुग्नु, बत्ती बाल्नु वा वाइफाई चलाउनु मात्र होइन, यसले जनजीवनमा नयाँ उज्यालो र आर्थिक रूपान्तरण ल्याउनेछ ।” शाहले थबाङ गाउँपालिकाभित्र बाँकी वडाहरूमा आगामी वर्षमा विद्युत विस्तार गर्ने दाबी गर्नुभयो ।

थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले विद्युत थबाङमा पुगेकोमा स्थानीयवासी निकै उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत थबाङको आधारभूत आवश्यकता थियो, आज त्यो आवश्यकता पूरा भएको छ । अब गाउँको विकासले नयाँ गति लिनेछ । हामी उद्योग, पर्यटन र सूचना प्रविधिको माध्यमबाट थबाङलाई आत्मनिर्भर गाउँ बनाउनतिर लाग्नेछौं ।”

केन्द्रीय विद्युत लाइन सञ्चालनमा आएसँगै थबाङ गाउँपालिका १ र २ का गल्चोर, मराङ्थाना र ठुलो गाउँका करिब २ सय ५० घरमा प्रत्यक्ष रूपमा विद्युत पुगेको छ । विद्युत पुगेपछि गाउँमा अध्ययन, सञ्चार, व्यवसाय र दैनिक जीवनका कामहरू सहज हुनेमा स्थानीयवासीले खुशी व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २३ कात्तिक २०८२ , आइतबार
प्रतिक्रिया