शनिबार, वैशाख ५, २०८३

धर्मशालामा एकीकृत घुम्ती शिविर सम्पन्न, सोमबार भूमे–८ पोखरापाटामा



रुकुमपूर्व भूमे गाउँपालिका–७ धर्मशालामा एकीकृत सेवा प्रवाह घुम्ती शिविर सञ्चालन गरिएको छ । आज आइतबार धर्मशालामा एकीकृत सेवा प्रवाह घुम्ती शिविर सञ्चालन गरिएको हो । नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) रुकुमपूर्वको आर्थिक सहयोगमा भूमे गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

महिला रोग विशेषज्ञद्वारा निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधि उपचार, गर्भवती महिलाको भिडियो एक्सरे, महिलाको पाठेघर क्यान्सरको परीक्षण र गाउँपालिकाबाट प्रवाह गरिने सबै प्रकारका प्रशासनिक र प्राविधिक सेवाहरु प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ । एकीकृत सेवा प्रवाह घुम्ती शिविरबाट वडावासी लाभान्वित हुनु भएको छ । विशेषज्ञ स्वास्थ्य चेकजाँच साथै औषधि, उपचार र गाउँपालिका सम्पूर्ण प्रकारका प्रशासनिक तथा प्राविधिक सेवा एकै ठाउँबाट पाउँदा वडावासी हर्षित हुनु भएको छ ।

वडावासीलाई वडामै आएर एकीकृत सेवा प्रदान गरिएको कार्यक्रमका प्रमुख अतिथि एवम् भूमे गाउँपालिकाका उपाध्यक्ष सविना बुढामगरले बताउनुभयो । गाउँपालिका देखि दूरीले टाढा रहेका वडाका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उपाध्यक्ष बुढामगरले बताउनुभयो ।

गाउँपालिका र संस्थाले वडामै आएर सञ्चालन गर्नु भएको एकीकृत घुम्ती शिविरबाट नागरिकले धेरै सेवा लिनु भएको भूमे–७ का वडाध्यक्ष संगम रोकामगरले बताउनुभयो । दुर्गम गाउँका लागि बेलाबेलामा यी शिविर सञ्चालन हुनु पर्नेमा वडाध्यक्ष रोकामगरको भनाइ रहेको थियो । सोमबार भोलि भूमे–८ वडा कार्यालय पोखरापाटामा उक्त शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : २३ कात्तिक २०८२ , आइतबार
प्रतिक्रिया