शनिबार, वैशाख ५, २०८३

कोलमा चार वर्ष वित्दा पनि प्रदेशले डाक्टर पठाएन



चार वर्ष देखि लुम्बिनी प्रदेशले डाक्टर नपाएको प्राथमिक स्वास्थ्य केन्द्र कोल । तस्बिरः जयमान बुढामगर ।

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–१२ प्राथमिक स्वास्थ्य केन्द्र कोलमा चार वर्ष देखि लम्बिनी प्रदेश सरकारले मेडिकल अधिकृत तहको डाक्टर पठाएको छैन् । गाउँपालिकाले पटक–पटक माग गर्दा पनि प्रदेश सरकारले प्राथमिक स्वास्थ्य केन्द्र कोलमा डाक्टर नपाएपछि चार वर्ष अघि गाउँपालिकाले आफैँ करार डाक्टर राखेको छ ।

जिल्लाको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र हो । जुन प्रदेश सरकार मातहत सञ्चालनमा रहेको छ । प्रदेश सरकारले दरबन्दी अनुसार डाक्टर नपठाए पछि २०७८ वैशाख देखि गाउँपालिकाले आफैँ करारमा डाक्टर राखेको गाउँपालिकाका स्वास्थ्य शाखाका निमित्त प्रमुख कलिभान विष्टले बताउनुभयो । विष्टले भन्नुभयो, “गाउँकार्यापालिकाबाट निर्णय गरी पटक–पटक डाक्टरको माग गर्ने गरेका छौँ । यद्यपि प्रदेश सरकारले गाउँपालिकाको माग सुनुवाइ गर्न सकेको छैन् ।”

पालिकाको स्रोत अभावका बाबजुदमा पनि गाउँपालिकावासीको औषधि उपचारका लागि चार वर्ष देखि गाउँपालिकाले करार डाक्टर राखेर प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गरिराखिएको निमित्त प्रमुख विष्टले जानकारी दिनुभयो । प्रदेश सरकारले दुई कार्यालय सहयोगी पनि नियुक्ति नगर्दा उक्त पदमा पनि गाउँपालिकाले नै व्यहोरी राखेको छ । प्रदेश सरकारले डाक्टर र दुई कार्यालय सहयोगी पठाइ दिएमा गाउँपालिकालाई परिराखेको आर्थिक भार कम हुने विष्टको भनाइ रहेको छ ।

यसैगरी प्राथमिक स्वास्थ्य केन्द्रको प्रमुख पदका लागि छैटौँ तहको दरबन्दी पनि खाली रहेको विष्टले बताउनुभयो । पाँच वर्ष देखि पाँचाँै तहको निमित्त प्रमुखबाट स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ । साथै अनमी र रेडियोपोजिष्ट एक÷एक जनाको दरबन्दी खाली रहेको छ । प्राथमिक स्वास्थय केन्द्रमा ल्याब, भिडियो एक्स–रे, सादा एक्स–रे लगायतको सेवा प्रवाह भइरहेको छ ।

प्रकाशित मिति : २० कात्तिक २०८२ , बिहीबार
प्रतिक्रिया