मंगलबार, जेठ १९, २०८३

सुरक्षित, भरपर्दाे यात्रा गराउन ट्राफिकको सचेतना



पुथाउत्तरगङ्गा–१० तकसेरामा ट्राफिक प्रहरीले दुर्घटना रोक्न सचेतना कार्यक्रम गर्दै । तस्बिरः ट्राफिक प्रहरी रुकुमपूर्व ।

रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१० तकसेरामा सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरीले सचेतना कार्यक्रम गरेको छ । तकसेरामा जिल्ला प्रहरीसँगको सहकार्यमा अस्थायी ट्राफिक प्रहरी पोष्ट तकसेराले सवारी दुर्घटना रोक्न सचेतना कार्यक्रम गरेको हो ।

“हाम्रो सडक मेरो सवारी, ट्राफिक नियमको पालनामा मेरो जिम्मेवारी” भन्ने मुल नाराका साथ सवारी चालक तथा यात्रुलाई सुरक्षित यात्रा कसरी गर्ने, दुर्घटनाबाट कसरी बच्न सकिन्छ, कम गतिमा सवारी साधन चलाउन र ट्राफिक नियमको पालना किन महत्त्वपूर्ण छ भन्ने लगायत विषयमा ट्राफिक सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख बिरबहादुर थापाले दुबोपातीलाई जानकारी दिनुभयो ।

सवारी चाप बढ्दै जानु र चालकले ट्राफिक नियम पालना नगर्ने हुँदा सडक दुर्घटना बढ्दै गएकाले सचेतना कार्यक्रम गराइएको थापाले बताउनुभयो । दुर्घटना रोक्न ट्राफिक प्रहरीले विभिन्न ठाउँमा सचेतना कार्यक्रम गरिराखेको थापाको भनाइ रहेको छ । रुकुमपूर्वमा पनि सवारी साधन दुर्घटनाका घटना बेलाबेलामा भइराखेकोले सवारी चालकले सावधानी अपनाएर यात्रुलाई सुरक्षित र भरपर्दाे यात्रा गराउन समेत थापाले अपिल गर्नु भएको छ ।

प्रकाशित मिति : २० कात्तिक २०८२ , बिहीबार
प्रतिक्रिया