मंगलबार, जेठ १९, २०८३

मारिङ सहकारीद्वारा सदस्यका मृतक परिवार र सुत्केरीलाई आर्थिक सहयोग गर्दै



स्वर्गीय बलबहादुर खड्काका परिवारलाई सहकारीबाट आर्थिक सहयोग हस्तान्तरण गर्नु हुँदै सहकारीका अध्यक्ष रामसुर बुढामगर । तस्बिर : दुबोपाती डटकम ।

रुकुमपूर्व भूमे गाउँपालिका–२ खाबाङ बगरमा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो सहकारी सदस्यका मृतक परिवार र सुत्केरीलाई आर्थिक सहयोग गर्दै आएको छ । गत माघ महिना बसेको मारिङ सहकारीको साधारण सभाले आफ्नो सहकारीका साधारण सदस्य तथा सदस्यको मृतक परिवार र सुत्केरीलाई आर्थिक सहयोग गर्ने कार्यविधि बनाएको हो ।

साथै उक्त कार्यविधि अनुसार मारिङ सहकारीले आफ्नो सदस्यका मृतक परिवार, सुत्केरी, गम्भीर प्रकृतिका रोगी, प्राकृतिक प्रकोपबाट पीडित घरपरिवारलाई आर्थिक सहयोग गर्दै आएको मारिङ सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले दुबोपाती डटकमलाई बताउनुभयो । सहकारीका सदस्यको मृत्यु भएमा मृतकको घरपरिवारलाई काज किरिया खर्च वापतको पाँच हजार देखि ३० हजार रुपियाँ सम्म सहयोग गर्ने गरिएको व्यवस्थापक अधिकारीले बताउनुभयो । भने सदस्यले सहकारीबाट ऋण लिएको भएमा जति ऋण लगेको उक्त ऋण पूरै मिनाहासँगै थप सुरुमा पाँच हजार र पछि २५ हजार गरी ३० हजार रुपियाँ मृतक परिवारलाई आर्थिक सहयोग गर्ने गरेको अधिकारको भनाइ छ । सहकारीका सदस्यले सहकारीबाट ऋण नलिएको भएमा पाँच हजार रुपियाँ मात्र र ऋण लिएको भए ऋण बिमा रकमको २५ हजार रुपियाँ गरी ३० हजार रुपियाँ दिने गरिएको छ ।

यसैगरी सदस्य एवम् सदस्यको घरपरिवारका एक सदस्यको सुत्केरी भएमा पोषणमा सहयोग पुगोस् भनी पाँच हजार रुपियाँ सहकारीले प्रदान गर्दै आएको छ । साथै एकाघर परिवारका सुत्केरीलाई दुई हजार पाँच सय रुपियाँ सहकारीले दिइँदै आएका बताइएको छ । यसैगरी सहकारीका सदस्यका घरपरिवारलाई गम्भीर प्रकृतिका रोगग्रस्त भएको अवस्थामा पाँच हजार रुपियाँ र सहकारीका सदस्यका घरपरिवारमा प्राकृतिक प्रकोपले क्षति पु¥याएमा क्षतिको अवस्था हेरेर राहत प्रदान गर्दै आएको व्यवस्थापक अधिकारीले बताउनुभयो ।

सहकारीका साधारण सदस्य भूमे–८ का स्वर्गीय बलबहादुर खड्काको परिवारलाई मंगलबार एक लाख २५ हजार रुपियाँ सहकारीले हस्तान्तरण गरेको छ । एक लाख रुपियाँ ऋण मिनाहासँगै थप २५ हजार रुपियाँ सहयोग गरिएको छ । पाँच हजार रुपियाँ यस अघि नै दिइसकेको सहकारीले जनाएको छ ।

प्रकाशित मिति : १९ कात्तिक २०८२ , बुधबार
प्रतिक्रिया