शनिबार, वैशाख ५, २०८३

मैकोटका सुत्केरी बेथा लागेको बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार



बिरामीलाई उद्धार गर्दै । तस्बिर ः स्वास्थ्य चौकी मैकोट ।

रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटबाट सुत्केरी बेथा लागेको बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । आज मङ्गलबार बिहान पौने १० बजे मैकोटका १५ वर्षीया सुत्केरी बेथा लागेको बिरामीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।
सुत्केरी बेथाले च्यापेपछि मङ्गलबार बिहान ४ बजे स्वास्थ्य चौकी मैकोटमा बिरामीलाई ल्याइएको थियो । स्वास्थ्य चौकी मैकोटका स्वास्थ्यकर्मीले चेकजाँच गर्दा बिरामीको अवस्था जटिल भएपछि हेलिकोप्टर मार्फत रिफरका लागि प्रमुख जिल्ला अधिकारी लगायतलाई जानकारी गरिएको पुथाउत्तरगङ्गा गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक कलिभान विष्टले दुबोपाती डटकमलाई जानकारी दिनुभयो । बच्चा जन्मिने समय मङ्सिर महिना भए पनि एक महिना अघि नै सुत्केरी बेथाले च्यापेपछि अवस्था जटिल बनेपछि उद्धार गरिएको विष्टले बताउनुभयो । बिरामीको धेरै पेट देख्ने, काम्ने र बेहोस हुने लक्षिण देखा परिराखेको विष्टले बताउनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत मैकोट देखि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको पुथाउत्तरगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव बिकले दुबोपाती डटकमलाई जानकारी दिनुभयो । उद्धारका लागि पहलकदमी र साथ सहयोग गर्नु हुने सबैलाई गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बिकले धन्यवाद दिनु भएको छ ।

प्रकाशित मिति : १८ कात्तिक २०८२ , मंगलबार
प्रतिक्रिया