शनिबार, वैशाख ५, २०८३

मध्यपहाडी र शहीद मार्ग मर्मत गर्न ठेकेदारको बेवास्ता



रुकुमपूर्व भूमे गाउँपालिका–३ र ४ पर्ने काँडाबगर स्थित मध्यपहाडी लोकमार्गमा आएको पहिरो भूमे गाउँपालिकाले हटाउँदै । तस्बिरः जयमान बुढामगर ।

रुकुमपूर्व खण्डमा पर्ने राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी लोकमार्ग र शहीद मार्ग मर्मत सम्भारमा ठेकेदारले बेवास्ता गर्दै आएको छ । रुकुमपूर्व खण्ड पर्ने मध्यपहाडी लोकमार्ग र शहीद मार्गमा सडक निर्माणका लागि जिम्मा लिएको ठेकेदारले सडक मर्मत सम्भार कार्य बेवास्ता गर्दै आएको हो ।

वर्षायाममा प्रायः दैनिक र हिउँदयाममा पनि बेला–बेलामा आउने गरेको पहिरो हटाउन र सडक स्तरोन्नति कार्यमा ठेकेदारले बेवास्ता गर्दै आएको जिल्ला स्थित गाउँपालिकाले बताएका छन् । ठेकेदारले सडक स्तरोन्नति सहित सडक कालोपत्रेका लागि कामको जिम्मा लिने गरेको तर, काम नगर्ने गरेको भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, “ठेकेदारले सडक स्तरोन्नति नगर्दा नागरिकलाई आउजाउमा सास्ती भइरहेका छ । भने सडक अवरुद्ध हुँदा मर्मत सम्भार पूरै गाउँपालिकाले गर्नु परेको छ ।”

ठेकेदार र आयोजना कार्यालयलाई सम्पर्क गर्दा सम्पर्कमा नआउने गरेको उहाँको भनाई छ । गाउँपालिका भित्र पर्ने मध्यपहाडी लोकमार्ग, शहीद मार्ग र प्रादेशिक सडक मर्मत सम्भार गर्दा हरेक वर्ष गाउँपालिकाको ४० लाख देखि एक करोड रुपियाँ सम्मको खर्च हुने गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यसले गर्दा गाउँपालिकाको आफ्नो योजनामा बजेटको अभाव खेपिराख्नु परेको श्रेष्ठले बताउनुभयो ।

यसैगरी सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले पनि गाउँपालिका भित्र पर्ने मध्यपहाडी लोकमार्ग मर्मत सम्भार गर्दा हरेक वर्ष १५ देखि २० लाख रुपियाँ खर्च भइरहेको बताउनुभयो । सङ्घ र प्रदेश सरकारको गैरजिम्मेवारीकै कारण माथिल्लो सरकारको आयोजनामा गाउँपालिकाले सास्ती खेपिराख्नु परेको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । माथिल्लो दुई सरकारले काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्नुकै कारण राष्ट्रिय गौरवका आयोजना अलपत्र परिराखेको रेग्मीको भनाइ छ । अध्यक्ष रेग्मीले भन्नुभयो, “फिल्डमा काम गर्दैन्न्, पछि जिल्लामा आएको सङ्घ र प्रदेशको बजेट फ्रिज भयो भन्ने गर्नु हुन्छ । यो भनेको माथिल्लो सरकारको गैरजिम्मेवार बन्नुको परिणाम हो ।”

पुथाउत्तरगङ्गा गाउँपालिकामा पर्ने शहीद मार्ग खण्डमा पनि हरेक वर्ष सडक मर्मत गर्दा ३० देखि ४० लाख रुपियाँ खर्च भइरहेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव बिकले जानकारी दिनुभयो । सडकमा काम गर्ने ठेकेदार फिल्डमा नहुँदा अवरुद्ध सडक सुचारु गर्न गाउँपालिकाकै काँधमा आउने गरेको बिकले जानकारी दिनुभयो । बिकले भन्नुभयो, “नागरिकका लागि अवरुद्ध सडक खोल्छौँ । तर, पछि महालेखापरीक्षकले तपाईहरूको क्षेत्राअधिकार भित्र पर्दैन् किन मर्मत गर्नुभयो भनेर बेरुजु निकालिदिनु हुन्छ । एकातिर गाउँपालिकाको बजेट सङ्घ र प्रदेश सरकारको सडकमा बजेट सकिराखेको छ अर्काेतिर त्यो काम गरिएको बजेट पनि महालेखापरीक्षकले बेरुजु निकालिदिनु हुन्छ । सङ्घ र प्रदेशको आफ्नो योजनाको बेवास्ताकै कारण गाउँपालिका सारै मर्कामा परिराखेको छ ।”

यता मध्यपहाडी लोकमार्ग र शहीद मार्ग योजना कार्यालयले पनि ठेकेदारले आफ्नो काम नगरिराखेको स्वीकार्नु हुन्छ । जति पनि योजना कार्यालयले ठेकेदारलाई फिल्डको काम गर्नुस् भन्दा पनि ठेकेदारले काम नगर्ने गरेको कार्यालयको भनाइ छ ।

प्रकाशित मिति : १७ कात्तिक २०८२ , सोमबार
प्रतिक्रिया