शनिबार, वैशाख ५, २०८३

रुकुमपूर्वमा अटो दुर्घटना हुँदा जेठानी–देउरानीको मृत्यु, पाँच घाइते



अटो दुर्घटनामा परेका घाइतेलाई उद्धार गर्दै ।

रुकुमपूर्व भूमे गाउँपालिका–१ पञ्चासेमा अटो दुर्घटना हुँदा एकै घरका दुई जनाको मृत्यु भएको छ । भने पाँच जना घाइते हुनु भएको छ ।

शनिबार साँझ पौने ६ बजेको समयमा रा १ ह ६७९७ नम्बरको अटो लुगुमबाट ब्राहताल जाँदै गर्दा पञ्चासे स्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशङ्करप्रसाद यादवले जानकारी दिनुभयो । मृत्यु हुनेमा भूमे–१ का ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया फिसोल्टी भन्ने सबिता घर्तीको मृत्यु भएको डीएसपी यादवले बताउनुभयो । मृत्यु हुने जेठानी–देउरानी हुन् । घटना स्थलबाट घाइतेलाई उद्धार गरी रुकुमपूर्व अस्पतालमा ल्याइ चेकजाँच गर्दा डाक्टरले दुई जनाको मृत्यु भई सकेको घोषणा गरेको प्रहरीले बताएको छ । दुबैको शव पोस्टमार्टमका लागि रुकुमपूर्व अस्पताल रुकुमकोटमा राखिएको ।

भूमे–१ का २६ वर्षीया प्रतिक्षा बुढा, बुढाका छोरा ११ महिनाको सुभम बुढा यसैगरी २५ वर्षीया ब्युटी पुन, पुनका छोरी २ वर्षीया समृद्धि पुन र ३ वर्षीया सक्षम घर्ती घाइते हुनु भएको थियो । घाइते पाँच जनाको रुकुमपूर्व अस्पतालबाट उपचार पश्चात् डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

दुर्घटना पछि फरार रहेका अटो चालक भूमे–१ लुगुमका ३० वर्षीय जोते भन्ने जोतिलाल घर्तीलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा ल्याएको छ । मध्यपहाडी लोकमार्ग देखि अटो तीन सय मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।

 

प्रकाशित मिति : १६ कात्तिक २०८२ , आइतबार
प्रतिक्रिया