जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले देउली–भैलो राति १० बजे सम्म मात्र खेल्न सूचना गरेको छ । असोज ३१ गते प्रमुख जिल्ला अधिकारी सीता परियारद्वारा हस्ताक्षरित गरिएको सूचना मार्फत जिल्लावासीलाई देउसी–भैलो राति १० बजे सम्म मात्र खेल्न अनुरोध गरेको हो ।
साथै तिहारमा मैनबत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन समेत सुझाव दिइएको छ । देउसी–भैलो खेल्दा परम्परागत रुपमा चलिआएको संस्कृतिको जर्गेना गर्दै मर्यादित भएर खेल्न सूचना मार्फत अनुरोध गरिएको छ । भुईचप्पा, पटका, आतिसबाजी जस्ता प्रजवलनशील तथा विष्फोटक पदार्थको ओसारपसार एवम् बिक्री वितरण तथा प्रयोगमा रोक लगाइएको छ ।
यस्तै तिहार तथा छठको अवसरमा जुवातास, चिठ्ठा लगायतका कानुनले निषेध गरेका क्रियाकलाप नगर्न आग्रह गरेको छ । यसैगरी मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता क्रियाकलाप नगर्न समेत प्रशासनले अपिल गरेको छ । यदि कसैले उल्लेख गरिएका नियमको पालना नगरी कानुनको बर्खिलाप हुने गरी क्रियाकलाप गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने प्रशासनले सबैलाई जानकारी गरेको छ ।








